अर्थतन्त्र चलायमान बनाउन विश्वासको खाँचो छ

नेपाल व्यवसायीक वातावरण नै नभएको मुलुक होइन । धेरै घटनाक्रमहरु हुँदा समेत व्यवसायीक वातावरण तथा अर्थतन्त्र चलायमान बन्दै गैरहेको थियो ।

मेरो आफ्नो पनि व्यवसायमा ५५ वर्षको अनुभव रहेको छ । अहिलेसम्म आउँदा धेरै खालका घटना क्रमहरु भैरहे । राजा महेन्द्रले चलाएको शासन व्यवस्था होस् वा प्रजातन्त्रको बाहली पछिको अवस्था नै किन नहोस् । व्यवससायीक वातावरणमा धेरै ठूलो असर परेको थिएन ।

अर्थव्यवस्थाहरु विस्तारै सुदृढतर्फ अघि बढिरहेको थियो । कर्म गर्नेहरु निराश भैरहेका थिएनन् । थप लगानी गर्ने र राज्यलाई योगदान गर्नुपर्छ भनेर तल्लिन नै भैरहेका थिए ।

जति नाफा हुन्छ त्यो नाफालाई पुनः लगानी गरिरहेका देखिन्थे । हामी सँगसँगै लगानी गर्नेहरु उत्साहित भएर काम गरिरहेका देखिन्थ्योे । यो त्यस समयको कुरा थियो ।

तर, अहिले अवस्था त्यो रहेन । लगानीको वातावरण निकै बिग्रिएको छ । राजनीतिक नेता, कर्मचारीतन्त्र र उद्योगी व्यापारीबीच एक आपसमा विश्वास छैन ।

राजनीति आफैंमा योगदान हो भन्ने कुरा बिर्सिएको अवस्था छ । उनीहरुले राजनीति गरेपछि त्यसमा तुरुन्तै नाफा खोज्ने गरेको देखिन्छ ।

साथै, कुनै पदीय जिम्मेवारीमा आउने वित्तिकै त कमाउनुपर्छ भन्ने ढंगबाट काम गर्छन् । अर्को ठूलो समस्या कर्मचारीतन्त्रमा रहेको छ । उनीहरुले हरेक फाइल अगाडी बढाउने किन भनेर प्रश्न गर्छन् ?

उनीहरुले हरेक फाइललाई आम्दानीको स्रोतको रुपमा हेर्न थाले । राज्यबाटै सेवा सुविधा पाएको उनीहरुले बिर्सन थालिसकेका छन् ।

उद्योग व्यवसाय भनेको यस्तो ठाउँ हो जहाँ चर्को प्रतिस्पर्धा छ । प्रतिस्पर्धाको बीच आम्दानी निकाल्ने ठाउँ हो । एक दिन फाइल रोकिदा पनि धेरै नोक्सानी ब्यहोर्नु परिरहेको हुनसक्छ ।

त्यसकारण अहिले व्यवसायीहरुले कुनै गल्ति गरेर हैन, ढिलाई नहोस् र अनावश्यक कुनै झन्झट नहोस् भन्नको लागि कर्मचारीसँग मिलेमतो गर्न विवस भैरहेको मेरो अनुभवले देखाउँछ ।

केहि सरकारी अड्डा त यस्तो बनिरहेको छ कि त्यहाँ बाहल भएको दिनदेखि व्यापारीहरुसँग पैसा उठाउने नियतमै काम हुने गरेको छ ।

उनीहरुले विभिन्न माध्यम बनाएर असुल गर्ने नियत राख्छन् । व्यवसायीक गल्ति हो वा हैन त्यो नै नहेरी बोलाउने, थर्काउने र मिलाउने ढंगबाट अघि बढिरहेको छ ।

यस्तो गतिविधिले नेपालको अर्थतन्त्र कता जाँदै छ त्यो हामी आफै आँकलन गर्न सक्छौं । पछिल्लो समय त यसै पनि वस्तु खपत नै घट्दा उद्योगी व्यापारी अर्को तर्फबाट चपेटमा छन् ।

यस्तो अवस्थामा समेत सरकारी तबरको मानसिकता परिवर्तन हुन सकिरहेको छैन । कसरी लगानी गर्ने कहाँ लगानी गर्ने, त्यसको प्रतिफल निश्चित नै देखिदैन ।

अर्थतन्त्रमा साँच्चिकै मन्दी रहेको छ । यसको सुरुवात कोरोना कालदेखि नै भएको हो । त्यस समय आफैंमा अफ्ठ्यारो थियो । यहि अवस्थामा नेपाल राष्ट्र बैंकले अंकुश लगाइदियो ।

त्यसको असर पर्दै गयो । जसले सम्पूर्ण नेपालीलाई निराशातर्फ लग्यो । त्यो निराशाको प्रभाव यतिसम्म पर्यो कि धेरै मान्छेहरु विदेश पलायन भए । यसै पनि युवा नेपाली विदेश गैरहेका हुन्थ्यो । त्यसमा धेरै थपिएर जान थाले ।

जसको प्रभाव वस्तु खपतमा पर्यो । वस्तु खपत गर्ने भनेको युवाले नै हो । युवाले जति वस्तु खपत अन्य उमेर समूहले गर्न सक्दैनन् ।

त्यस अवस्थामा पुगिरहेका हामी अझैं चिन्तत भैरहेका छैनौं । अर्थतन्त्र चलायमान बनाउने नीति लिरहेका छैनौं । सरकारको आम्दानी घटिरहेको छ । त्यसको विकल्पहरु के हुन् सोच्न सकिएको अवस्था अहिले सम्म पनि छैन ।

करको दायरा बढाउने नाममा अग्रिम आयकर कट्टी जस्ता विषय समावेश रहेका छन् । कुनै वस्तुमा १० प्रतिशतको अग्रिम आयकर कट्टीको विषय जोडिएको छ । यदि कुनै वस्तुमा नाफा कम भयो भने त्यसको त्यो कर के हुन्छ ?

यस्ता अपब्याख्यासहित नेपालमा नयाँ नीति बनाइरहेको देखिन्छ । सुधार गर्ने भन्दा पनि झनै तलतिर बनाउने वातारणमा काम भैरहेको देखिन्छ ।

नेपालमा समस्या आएको सहकारीको समस्याले समेत हो । घरजग्गामा प्रत्यक्ष जोडिएको सहकारीको समस्या समाधान कसरी गर्ने कसैले सोचेका छैनन् । अहिले केवल समस्यालाई यथास्थानमा राख्ने काम मात्रै भैरहेको छ ।

त्यस्तो अर्को समस्या भनेको नेपालमा केहि ठूला आयोजनाहरु निर्माण भए त्यसको प्रतिफल आउनुपर्ने हो तर आउन सकिरहेको छैन । त्यसमा अध्ययन नभएको र मन लागेको ठाउँमा आयोजना निर्माण भएको नै कारण देखिन्छ ।

यस्ता समस्याहरु तत्कालिन अवस्थामा कायम रै रहे पनि समाधानको उपाय नै नभएको भने होइन । समाधानको लागि सबै नेपाली एक जुट हुनुपर्ने अवस्था छ । सबैलाई दुख नदिकन काम गर्नुपर्ने हुन्छ ।

बजेट सर्वाजनिक गर्दा होस् वा मौद्रिक नीति सार्वजनिक गर्दा नै किन नहोस् निजी क्षेत्रलाई उत्साहित बनाउने योजनाहरु अघि सार्नुपर्ने हुन्छ । निजी क्षेत्र सरकारको प्रमुख आम्दानीको स्रोत हो ।

आम्दानी बढाउन यो क्षेत्रलाई उत्साहित बनाउनु नै पर्छ । अर्को महत्वपूर्ण विषय भने विश्वासको वातावरण हो । अहिले कसैमाथि कसैको विश्वास छैन । विश्वासको निकै खाँचो देखिन्छ ।

सबैलाई आत्मबल बढाउन सके मात्रै अर्थतन्त्र पुनः सुदृढ तर्फ अघि बढ्छ ।

( राजकुमार अग्रवाल ५५ वर्षदेखि नेपालको व्यवसायीक क्षेत्रमा सक्रिय छन् )

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स