मौद्रिक नीति उद्योग व्यवसायीहरुको क्षमता बढाउने खालको हुनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मौद्रिक नीति उद्योग व्यवसायीहरुको क्षमता बढाउने खालको हुनुपर्ने बताएका छन् । मंगलबार महासंघले आव २०८१/८२ को मौद्रिक नीति सम्बन्धि कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो कुरा बताएका हुन् ।

उनले आगामी मौद्रिक नीति उद्योग व्यवसायीहरुको क्षमता बढाउने खालको हुनुपर्ने माग गर्दै भने, ‘समस्या मौद्रिक नीतिमा छ । आवको मौद्रिक नीतिले उद्योगहरुको ऋण तिर्न सक्ने क्षमतालाई सम्बोधन गर्ने, कर्जा सुलभ हुने, व्यवसायीहरुलाई उत्साहित बनाउने, बजारमा विभिन्न मागहरु सृजना गर्ने किसिमको हुनुपर्छ ।’

उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिले बजार चलायमान बनाउन नसकेको बताउँदै आगामी मौद्रिक नीतिले त्यसलाई सुधार गरेर लैजान आवश्यक रहेको पनि बताए ।

उनले उद्योगहरुलाई कालोसू‌चीमा राख्ने व्यवस्थाले व्यवसायीहरु मारमा परेको बताएका छन् ।

अध्यक्ष ढकालले अहिले नेपालको कच्चापदार्थहरु पनि उत्साहजनक नभएको बताउँदै हालको अवस्थामा उद्योग व्यवसायहरु सङ्कुचनमा परेको बताए ।

घर जग्गा लगानीको कारोबारलाई चलायमान बनाउने प्रकृतिको नीति आवस्यक रहेको जनाउँदै ढकालले उद्योग व्यवसायीहरुले ऋण तिर्न नसक्नुको अर्थ सबै खराब नभई समय र परिस्थितिले गर्दा पनि व्यवसायीहरु ऋणको फन्दामा परेको दाबी गरे।

त्यस्तै उनले बैंकहरुमा एनपीए बढ्दै गएकाले यो सङ्कुचनलाई व्यवस्थित गरि बैंकलाई बचाउनुपर्नेमा जोड दिए । ‘बैंक, लघु र उद्योग एउटै डुंगामा छ । त्यसैले नीतिगत क्षेत्रलाई बलियो बनाउँदै कर्जा विस्तार गर्ने मौद्रिक नीति ल्याउनुपर्छ ’, उनले भने ।

अध्यक्ष ढकालले बजार चलायमान बनाउने नीति अझै आउन नसकेको हुँदा व्यवसायी र आम जनतामा निराशा छाएकाले मौद्रिक नीति मार्फत सच्याउनु पर्ने बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स