प्रज्ञाको पुस्तक प्रदर्शनी सुरु, ८० प्रतिशतसम्म छुट

काठमाडौं ।  नेपाल प्रज्ञा प्रतिष्ठानले ४१औँ प्राज्ञसभाका अवसरमा आजदेखि १५ दिने पुस्तक प्रदर्शनी सुरु गरेको छ । प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका करिब छ सयभन्दा बढी प्रकारका पुस्तक राखिएको जनाइएको छ ।
प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक र पत्रपत्रिका गरी छ सयभन्दा बढी प्रकार राखिएको सह–व्यवस्थापक भरतप्रसाद सुवेदीले जानकारी दिए ।
प्रतिष्ठानको भानुभक्त कक्षमा सुरु प्रदर्शनीको कुलपति भुपाल राईले आज शुभारम्भ गरे । प्रतिष्ठानका प्रकाशन सबैले अध्ययन गर्न सकून् भनी छुटसहित प्रदर्शनी आयोजना गरिएको उनले बताए ।
प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०८१ जेठसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको छ । तीनदेखि तीन हजार तीन सय पाँच मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको छ । पुस्तकमा २० देखि ८० प्रतिशतसम्म छुट दिइएको छ ।
 प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिब ६०० भन्दा बढी थरीका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ ।
 नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशलगायत शब्दकोशमा २० प्रतिशत छुटको व्यवस्था छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०८१ साल जेठसम्मका पुस्तकमा ८० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी पनि उहाँले दिनुभयो ।
   यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थीहरु बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ ।
प्रज्ञाले विगत वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको थियो । गत वर्ष पृथ्वी जयन्तीका अवसरमा पुस्तक प्रदर्शनी नगरिएको पनि प्रतिष्ठानले जनाएको छ ।
  प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेको छ । दैनिक तीन सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन् । दैनिक २० हजार बराबरको पुस्तक बिक्री हुने गरेको समेत सहव्यवस्थापक सुवेदीले बताए ।
हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पु¥याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइएको छ । प्रदर्शनीको मुख्य उद्देश्य पठन संस्कृतिको विकास गर्नु रहेको जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स