तेस्रो डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम

काठमाडौं । रामेछापको मन्थलीमा आयोजित तेस्रो राष्ट्रिय माझी डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ । मन्थली नगरपालिकास्थित सेलेघाटमा सोमबार सम्पन्न उक्त प्रतियोगिताको ‘सिङ्गल’ विधातर्फ सुनसरीका चन्द्र माझी र जीवन माझीले तीन मिनेट तीन सेकेण्डमा डुङ्गालाई नदी वारपार गराई प्रथम भएका हुन् ।

ओखलढुङ्गाका कमल माझी र कुशल माझीले तीन मिनेट १२ सेकेण्डमा, रामेछाप मसानटारका सुनिल माझी र उर्बे माझीले तीन मिनेट १६ सेकेन्डमा पूरा गरी क्रमशः द्वितीय र तृतीय हुन सफल भएका छन् । त्यसै गरी सिन्धुली खाङ्साङका पेशल माझी र डिल्ले माझीले तीन मिनेट २४ सेकेण्डमा नदी वारपार गरी सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

‘डवल’ विधातर्फ दुई मिनेट ४४ सेकेण्डमा सुनसरीको समूह प्रथम, दुई मिनेट ५० सेकेण्डमा रामेछाप राताटारको समूह द्वितीय, दुई मिनेट ५१ सेकेण्डमा ओखलढु्गाले तृतीय र सुनसरी ‘ए’ले दुई मिनेट ५३ सेकेण्डमा नदी वारपार गरी सान्त्वना स्थान हासिल गरेका छन् ।

उक्त प्रतियोगिताको ‘सिङ्गल’ विधामा दुईजना र ‘डबल’ विधामा चारजनाको समूह रहेका थिए । प्रतियोगितामा रामेछाप सिन्धुली, दोलखा, सुनसरी र ओखलढुङ्गा जिल्लाका खेलाडीको सहभागिता थियो । प्रतियोगितामा पाँच जिल्लाका डबल विधातर्फ २९ समूह र सिङ्गल विधातर्फ २६ समूहको सहभागिता रहेको कार्यक्रम संयोजक नवराज माझीले जानकारी दिए । विजयी प्रतियोगीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

उक्त खेलअन्तर्गत खेलाडीले प्रतिस्पर्धाका आधारमा डुङ्गालाई सेलेघाटस्थित तीन नदीको सङ्गम त्रीवेणीको वारि किनारबाट पारि पुर्याई पुनः वारि नै ल्याउनुपर्ने प्रावधान रहेको थियो । माझी समुदायको परम्परागत पेसाका रूपमा पहिचान बनाएको डुङ्गा व्यवसायलाई राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलका रूपमा मान्यता दिएसँगै हरेक वर्ष प्रतियोगिताको आयोजना हुँदै आएको छ । प्रतियोगिताको शुभारम्भ बागमती प्रदेशका खेलकुदमन्त्री रमा आलेले गरेकी थिईन् । रासस

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स