काठमाडौं । जाल्पा लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था एकापसमा गाभिएपछि असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुवै संस्थाले असार २७ गतेबाट ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’ को नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् ।
राष्ट्र बैंकले यी दुई कम्पनीलाई जेठ २९ गते ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार सुरु गर्ने गरी अन्तिम स्वीकृति प्रदान गरेको हो ।
दुवै संस्थाबीच मर्जर कार्यका लागि २०८० चैत १८ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
दुवै संस्थाको गत २०८० चैत ९ गते सम्पन्न बेग्ला बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको हो ।
हाल जाल्पाको चुक्ता पुँजी १६ करोड रहेको छ भने किसानको चुक्ता पुँजी ४७ करोड १३ लाख रहेको छ । यी दुई संस्थाबीच २०८० साउन ९ गते मर्जरको प्रारम्भिक सम्झौता भएको थियो।
जाल्पाको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने किसानको केन्द्रीय कार्यालय कैलालीको लम्किचुहामा रहेको छ ।
दुवै कम्पनीको एकीकृत कारोबार असार २७ गतेदेखि शुरु हुने भएकाले असार २६ गतेका दिन दुईवटै कम्पनीद्वारा प्रदान गर्दै आईरहेको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने कम्पनीले जनाएको छ।