काठमाडौं । लमजुङमा गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाँगाईले जानकारी दिए। वर्षा निरन्तर भइैरहेकोले प्रहरी टोली परिचालन गरी सडक खुलाउन खोजिए पनि समस्या भएको उनले बताए ।
सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन् । बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन् । डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ । यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो ।