मणिपाल अस्पतालमा नेपाली स्वामित्वः पारिवारिक वातावरणमा सेवा

काठमाडौं । २६ वर्षअघि भारतको मणिपाल एजुकेशन एन्ड मेडिकल ग्रूपले सञ्चालनमा ल्याएको नेपाल कै पहिलो मेडिकल कलेज ‘मणिपाल हस्पिटल’ अब नेपाली व्यवसायीले सञ्चालन गर्ने भएका छन् । पोखराका स्थानीय व्यवसायी बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रूपका अध्यक्ष नारायण पौडेलले योे अस्पताल आफ्नो स्वामित्वमा सञ्चालन गर्न लागेका हुन् । उनीहरूले उक्त अस्पताललाई पारिवारिक वातावरणमा सेवा दिने हिसावले तयार पारिरहेका छन् ।

मणिपाल एजुकेशन एन्ड मेडिकल ग्रूपले उनीहरूलाई तिहारपछि स्वामित्व हस्तान्तर गर्ने कार्यक्रम रहेको व्यवसायी बतासले बताए । उक्त मेडिकल कलेज दुई व्यवसायीले साढे ३ अर्ब रुपैयाँमा खरिद गरेका हुन् । उक्त अस्पतालमा बतासले ६० प्रतिशत र अटोवेजले ४० प्रतिशत लगानी रहने छ । ‘अस्पतालसहित मेडिकल कलेजको दुई अर्ब २५ करोड रुपैयाँ मूल्यांकन भएको हो,’ बतासले भने ‘अस्पतालको भवनसहित ४० रोपनी आफ्नै जग्गा छ ।’

कुनै कर्जा नभएको मणिपाल अस्पतालको कर लगायत अन्य विभिन्न दायित्व गरी ९७ करोड ६० लाख रुपैयाँ भने तिर्न बाँकी देखिएको उनले बताए । सन् १९९४ बाट पोखरामा सञ्चालनमा आएको उक्त अस्पताल नयाँ स्वामित्वमा आएपछि अस्पतालमा पनि घर वा पारिवारिक वातावरण दिने गरी विरामीको उपचार गर्ने तयारी गरेको उनले बताए ।

‘पारिवारिक सेवा दिनेगरी आन्तरिक साजसज्जा गरिरहेका छौं,’ उनले भने ‘विरामी नहुँनका लागि अस्पताल जाने वातावरण बनाउन लागेका हौं ।’ विरामीलाई अस्पताल दोहोराएर आउन नपर्ने गरी उपचार गर्ने तयारी उनले गराउने भएका छन् ।

‘अब मणिपाल अस्पतालमा विरामीलाई अस्पतालको जस्तो व्यवहार नभएर घरमै बसेको अनुभूति हुने गरी कोठाहरू सजाउने काम भएको उनले बताए । अस्पतालमा विरामी सुत्ने कोठाको जस्तोसेतो रंग हुँदैन । अस्पतालको कोठाहरू विश्वव्यापी रुपमा परिवर्तन भइरहेका छन् । अस्पतालको कोठा पनि घरको कोठामा बसेजस्तो । संसारभरिका अस्पतालले अहिले आन्तरिक साजसज्जा गरिरहेका छन् ।

विरामीलाई अस्पतालमा सुतेको महशुस नहोस् भन्नका लागि कोठामा आन्तरिक साजसज्जा गराइराखिएको छ । ‘अब अस्पतालको कोठामा प्रयोग हुने सामान पनि घरायसी प्रयोजनका लागि प्रयोग हुनेजस्तै हुनेछन्,’ उनले भने ‘कोठाको रंग सेतो नभएर अब घरको जस्तै हुनेछ ।’ पोष्टर, बेड, मेच र टेवुलसम्म घरमा प्रयोग गर्ने जस्तै हुन्छ उनले भने ‘यसले विरामीलाई छिटो निको हुन धेरै मद्दत गर्छ ।’

साथै अस्पतालमा विरामीको लागि छुट्टै ध्यानयोग पनि निर्माण हुने उनले बताए । ‘विरामीको लागि ध्यान योगको कक्षा पनि सञ्चालन हुनेछ,’ उनले भने ‘अस्पतालले पोखराको मुहार फर्नेछ अर्थात अब विरामीले अब उपचार गर्नैका लागि काठमाडौंलगायत देशका अन्य सहर जानु पर्दैन ।’

अस्पतालको प्राङ्गणमा पनि फूलका बिरुवाहरु लगाउन लागेका छौं । विरामी अस्पतालमा छिर्दा रमणीय र स्वच्छ वातावरण होस् अर्थात अर्कै किसिमको सुखानुभूति होस् भन्नका लागि अस्पतालको वातावरण पुरै परिवर्तन गर्न लागिएको हो । ‘ म प्रकृतिसँग रमाउने आध्यात्मिक सोचको मान्छे, जहाँ बस्यो त्यहि नै हरियाल चाहिन्छ, टंगाल कार्यालयमै एक हजार इन्डोर प्लान्ट लगाएको छु । अस्पतालमा अझ स्वच्छ वातावरणको आवश्यकता पर्छ । त्यसैले अस्पतालमा रमणीय वातावरण सिर्जना गर्न बिरुवा लगाउन लागेको हुँ,’ उनले भने ।

अस्पतालमा आयुर्वेदिक उपचार सेवा पनि दिइने उनले बताए । विरामी कुरुवालाई ध्यान र योग कक्षा पनि सञ्चालन हुनेछ । कुरुवालाई डाक्टर राउण्डमा गएका बेला कहाँ जाने त भन्दा समयको उचित सदुपयोग गर्नका लागि योग कक्षा सञ्चालन गर्न लागिएको उनले बताए ।

पोखरामा अहिलेसम्म मुटु र ब्रेन ह्याम्बेजको उपचार छैन । यहाँ ठूलो समस्या छ । कोही मान्छेलाई यस्तो रोग लागेमा हेलिकप्टरमा काठमाडौं ल्याउनु पर्छ । ‘यसको उपचार स्थानीय तहमै गर्न सकियोस् भन्ने हेतुले यसलाई टप प्रायोरिटीमा परेर काम अघि बढाएका छौं, उनले थपे ‘मैले यो अस्पताल लिएको थाहापाएपछि काठमाडौंका मुटु विशेषज्ञहरूबाट मिलेर काम गरौं भन्ने कुरा पनि आएको छ ।’

भारतका विभिन्न सहरमा मेडिकल कलेज सञ्चालन गरेको मणिपाल एजुकेशन एन्ड मेडिकल ग्रूप सन् १९९२ मा नेपाल प्रवेश गरेको थियो । मेडिकल कलेज सञ्चालन गर्नका लागि उक्त वर्ष अक्टोबर १८ मा शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालय र मणिपाल गू्रपबीच सम्झौता भएको हो ।

२०४९ पुस २० मा गिरिजाप्रसाज कोइराला नेतृत्वको मन्त्रीपरिषद् बैठकले रक्षा मन्त्रालयअन्तर्गत पोखराको फुलबारी व्यारेकले सुटिङ रेन्जका लागि प्रयोग गर्दै आएको जग्गा ४९ वर्षका लागि मणिपाललाई भाडामा दिने निर्णय गर्योे ।

उक्त निर्णय र तत्कालीन शिक्षा मन्त्रालय र मणिपालबीच भएको सम्झौताका आधारमा जंगी अड्डा र मणिपालबीच २०५२ साउन ३ (सन् १९९५ जुलाइ १९) मा रक्षा मन्त्रालयमा अर्को सम्झौता भयो । रक्षा मन्त्रालयले ६ कित्ताको १ सय ९३ रोपनी जमिन प्रतिरोपनी वार्षिक ८० हजार रुपैयाँका दरले भाडा लिने गरी मणिपाललाई दिइएको हो । हाल अस्पतालको मुख्य संरचना रहेको ४० रोपनी जमिनको लालपूर्जा मणिपालकै नाममा छ ।

सम्झौता अनुसार सन् २०४४ भित्र यो अस्पताल सरकारलाई हस्तान्तरण गर्नुपर्छ । वतास र पौडेलले सो अस्पताल सञ्चालनमा ल्याएपछि २३ वर्ष उक्त अस्पताल उनीहरूको स्वामित्वमा रहेर सञ्चालन हुनेछ भने त्यसपछि ट्रष्टमा परिवर्तन हुनेछ ।

‘अस्पताल ट्रष्ट जान्छ भन्ने बुझेरै किनेको हुँ,’ उनले भने ‘अहिले कमाएको पैसा गोजीमा हालेर घर लान पाइन्छ । ट्रष्टमा रुपान्तरण भएपनि घर लान पाइदैन यद्यपि त्यो पैसा ट्रष्ट मै बस्छ र अस्पतालकै विकास र विस्तारमा खर्च हुन्छ । त्यतिमात्रै फरक हो ।’

अहिले अस्पतालमा ८ सय कर्मचारी छन् । युनियन भएको कारणले कर्मचारी बढी नै छन् भन्ने कुरा आएको छ । अहिले एमबीबीएस, एमडी र डीएमको मात्रै कक्षा हुन्छ । डेण्टल (बीडीएस) को पनि कक्षा सञ्चालन गछौं । अस्पताललाई भ्याक्सिन सेन्टरको रुपमा विकास गर्दैछौं । यो तयारी गर्नको लागि ६/८ महिन लाग्छ ।

त्यसपछि काठमाडौंमा अस्पताल बनाउने प्लानमा दुबै व्यवसायी रहेका छन् । ‘काठमाडौंमा पनि मणिपालमा बनाउने योजना छ,’ उनले भने ‘ विद्यार्थीहरूले इन्टर गर्न रोजेर गर्न पाउँछन् । काठमाडौंमा जग्गा साह्रै महँगो भएकोले यहि ठाउँमा अस्पताल बनाउने भन्ने निर्णय गर्न सकिएको छैन ।

काठमाडौं नेपाल हो । ६० लाख जनसंख्या काठमाडौंमै बस्छन् र सचेत पनि छन् । स्वास्थ्य सबैभन्दा ठूलो धन हो भन्ने कुरा आम नागरिकले बुझेका छन् । जनकपुरमा मणिपालकै जग्गा भएपनि म त्यहाँ अस्पताल बनाउने पक्षमा हामी छैनौं । राम्रो भयो भने ४ वर्षमा हामी काठमाडौंमा अर्को अस्पताल खोल्छौं,’ बतासले भने ‘मेडिकल सेक्टर हाम्रो नौलो फिल्ड हो तर, मणिपालाई पोखराको गहना बनाउँछौं ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स