१६ वाणिज्य बैंकको लाभांश घोषणा, बाँकीको क्षमता कति ?

काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २६ वटा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत छन् । नेपाल राष्ट्रिय वाणिज्य बैंक भने नेप्सेमा सूचीकृत छैन । नेप्सेमा सूचीकृत २६ वटा वाणिज्य बैंकमध्ये १६ वटाले लाभांश घोषणा गरिसकेका छन् ।

वाणिज्य बैंकमध्ये विगत केही वर्ष झैं नबिल बैंकले उच्च लाभांश घोषणा गरेको छ । नबिल बैंकले सेयरधनीहरुका लागि ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस सेयर ३३.६ प्रतिशत र नगद लाभांश ४.४ प्रतिशत छ ।

२६ प्रतिशत लाभांश सहित हिमालयन बैंक दोस्रो स्थानमा छ । हिमालय बैंकले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ नगद लाभांश घोषणा गरेको छ ।

सानिमा बैंक १७.८९४७ प्रतिशत लाभांश सहित तेस्रो स्थानमा छ । सानिमा बैंकले १७ प्रतिशत बोनस र ०.८९४७ प्रतिशत नगद लाभांश सेयरधनीहरुलाई वितरण गर्नेछ ।

जसमा ५ वटा बैंकको लाभांशको बुकक्लोज भइसकेको छ । कुमारी बैंक, माछापुच्छे बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक र सानिमा बैंकको बुक क्लोज भइसकेको छ ।

एनएमबी बैंक, सिद्धार्थ बैंक, एभरेष्ट बैंक, हिमालय बैंक, स्ट्यान्डर्ड चाटर्डड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक र बैंक अफ काठमाडौंको बुक क्लोज मिती तोकिन बाँकी छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले उक्त प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । यीमध्ये केही बैंकको लाभांश राष्ट्र बैंकले स्वीकृति प्रदान गरिसकेको छ ।

लाभांश घोषणा गरेका वाणिज्य बैंकहरु

सिभिल बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, सन् राइज बैंक, मेगा बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कर्म बैंक र प्राइम बैंकले लाभांश घोषणा गर्न बाँकी छ ।

प्राइम बैंक

प्राइम बैंकले गत आवमा २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १६ अर्ब ८ करोड ३० लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १६.५६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले गत आवमा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ छ । बैंकले सेयरधनीलाई १०.५६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

मेगा बैंक

मेगा बैंकले गत आवमा १ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १४ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १०.३४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

प्रभु बैंक

प्रभु बैंकले गत आवमा १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ छ । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३.०६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले गत आवमा १ अर्ब ३६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको कायम चुक्ता पूँजी १० अर्ब ६९ करोड ५६ लाख रुपैयाँ छ । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ९.३८ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

एनसीसी बैंक

एनसीसी बैंकले गत आवमा ७१ करोड ४७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँ छ । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ६.९३ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

सन् राईज बैंक

सन् राईज बैंकले गत आवमा ६० करोड १५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ छ । बैंकले ६.३४ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंक गत आवमा ५९ करोड ४६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ छ । बैंकले ६.५८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

सिभिल बैंक

सिभिल बैंकले गत आवमा ४९ करोड ८५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ छ । बैंकले सेयरधनीलाई ५.७७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

नेपाल एसबीई बैंक

नेपाल एसबीई बैंकले गत आवमा ३३ करोड ९२ लाख रुपैयाँ वितरण योग्य नाफ कमाएको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ छ । बैंकले सेयरधनीलाई ३.५७ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

राष्ट्रिय वाणिज्य बैंक

नेप्सेमा सूचिकृत नभएको एक मात्र वाणिज्य बैंक हो, राष्ट्रिय वाणिज्य बैंक । यो पूर्ण सरकारी स्वामित्वको बैंक हो । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै लाभांश दिने क्षमता राष्ट्रिय वाणिज्य बैंकसँग छ । नेप्सेमा सूचिकृत नभएकाले यो बैंकले सर्वासाधारणलाई लाभांश वितरण गर्नुपर्दैन । गत आवमा बैंकले ४ अर्ब ५२ करोड २४ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको कायम चुक्ता पूँजी ९ अर्ब १८ करोड ४८ लाख रुपैयाँ छ । बैंकले सेयरधनीलाई ४९.२४ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स