काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरू ट्राभल्स लिमिटेड तथा नेपालको बैंक तथा वित्तीय क्षेत्रमा सशक्त रूपमा स्थापित र क्रियाशील वाणिज्य बैंक ग्लोबल आईएमई बैंकबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेल तथा गुरू ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलबाट हस्ताक्षरित सहमतिपत्र आज आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
सहमतिपत्रमा उल्लेख भए बमोजिम ग्लोबल आईएमई बैंकका कर्मचारी तथा ग्राहकहरूलाई गुरू ट्राभल्स लिमिटेडले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजार रूपैयाँसम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ ।
यस्तै गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूले बैंकमा ट्राभलकार्ड तथा डलरकार्ड खरिदमा ५०० रूपैयाँ बराबरको स्पेशल डिस्काउण्ट लगायत अन्य विविध सेवामा अफरहरू प्राप्त गर्ने जनाइएको छ । सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरूमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ ।
कार्यक्रममा बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । गुरू ट्राभल्स लिमिटेडका साथमा भएको व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास समेत उनले व्यक्त गरे ।