काठमाडौं । पछिल्लो केहि वर्षदेखि नेपालमा विद्युतीय गाडीले राम्रो बजार पायो । अटो बजार निराशतर्फ अघि बढिरहँदा पनि विद्युतीय गाडीहरूले भने बजारमा राम्रो उपस्थिति जनायो ।
करिब दुई वर्षदेखि थलिएको अटो बजार विद्युतीय बजारले केहि उत्साहित समेत बनेको थियो । तर, यसलाई निराश बनाउने प्रयास पनि निकै भयो ।
चालु आर्थिक वर्षको सुरुदेखि नै विद्युतीय गाडीमा कर बढाउनु पर्ने भन्दै बहस नै सुरु गरियो ।
समग्र अटोबजार निराश हुनुमा दुई वटा कारण थिए, एउटा थियो अर्थतन्त्रमा संकुचनको प्रभाव र अर्को थियो, कर्जामा उच्च जोखिम भार । त्यसले बजारलाई निकै निराश बनाइ रह्यो ।
त्यसमा तेस्रो कारण पनि थपियो । त्यो थियो, विद्युतीय गाडीमा कर बढाउनुपर्छ भन्ने बहस ।
गाडीमा कर बढाउनुपर्छ भन्ने बहस यतिसम्म खुलम्खुला हुन थाल्यो कि सरकारी कर्मचारीहरू समेत कर बढाउनुपर्छ भनेर लाग्न थाले ।
एक मन्त्रीले त सार्वजनिक फोरमबाट नै विद्युतीय गाडीको कर बढ्ने विषय उल्लेख गरिदिए । सोहि अनुसारको सिफारिस भन्सार विभागले समेत गर्यो ।
तर, अहिलेका अर्थमन्त्रीले सुझबुझपूर्ण नीति लिने बताउँदै आएका थिए ।
चर्को दबाबको बीच अर्थमन्त्रीले पनि कर नबढाइकन बस्न सकेनन् । जेठ १५ गते आएको बजेट मार्फत अर्थमन्त्रीले आर्थिक विधेयकमा अन्तःशुल्क र भन्सार शुल्क थप गरे ।
बजेट अनु्सार ५० किलोवाटसम्मको विद्युतीय गाडीमा ५ प्रतिशत अन्तःशुल्क वृद्धि गरिएको छ ।
यस अघि ५० किलोवाटसम्मको गाडीमा अन्तःशुल्क लाग्दैन थियो । १० प्रतिशत भन्सार महसुलमात्रै लाग्दै आएको थियो । अब भन्सार र अन्तःशुल्क गरेर १५ प्रतिशत कायम हुने गरि शुल्क वृद्धि गरियो ।
५१ भन्दामाथि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा ५/५ प्रतिशत प्रतिशत भन्सार र अन्तःशुल्क वृद्धि गरिएको छ । यसभन्दा पहिले १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा अब २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्ने देखिएको हो ।
१०१ भन्दा माथि २०० किलोवाटसम्मको गाडीमा १० प्रतिशत भन्सार वृद्धि गरिएको छ । यो रेन्जमा २० प्रतिशत भन्सार लाग्दै आएकोमा अहिले ३० प्रतिशत पुर्याइएको छ । अन्तःशुल्क भने पहिलेको २० प्रतिशत नै कायम रहेको छ ।
२०१ देखि ३०० किलोवाटको विद्युतीय गाडीमा ४० प्रतिशत भन्सार रहेकोमा ६० प्रतिशत पुर्याइएको छ भने अन्तःशुल्क घटेको छ । पहिले ४५ प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा अब ३५ प्रतिशत कायम भएको छ । १० प्रतिशत अन्तःशुल्क घटेको छ ।
३०० किलोवाटभन्दा माथिका विद्युतीय गाडीमा ६० प्रतिशत भन्सार रहेकोमा २० प्रतिशत वृद्धि गरेर ८० प्रतिशत पुर्याइएको छ । ६० प्रतिशत रहेको अन्तःशुल्क १० प्रतिशत घटाएर ५० प्रतिशत कायम गरिएको छ ।
दुई रेन्जमा अन्तःशुल्क घटाइए पनि समग्रमा करको हिसाबले अब सबै प्रकारका विद्युतीय गाडीको मूल्य वृद्धि हुने छ ।
भन्सार विन्दुमा नै कर तिर्ने गरि बढाइएको नीतिगत व्यवस्था यो जेठ १६ गतेदेखि नै लागू भैसकको छ ।
नेपालमा हकमा पनि कुनै वस्तुको भन्सार विन्दुमा कर बढ्छ भने भोलि पल्टदेखि नै बजारमा मूल्य बढेको देख्न पाउँछौं ।
त्यसको उदाहरण यो वर्ष मात्रै नभई अन्य वर्षमा समेत त्यतिकै देखिएको हो । कर बढेसँगै खाद्य वस्तुदेखि अन्य अन्तःशुल्क लाग्ने वस्तुको मूल्य बढिसकेको छ ।
तर, विद्युतीय गाडी बिक्रेताहरू भने आएका गाडीहरूको मूल्य नबढाइ उपभोक्ता माथि इमान्दार देखिएका छन् । अहिलेसम्म कुनै ब्राण्डका गाडीमा पनि मूल्य बढेको छैन ।
त्यति मात्रै नभई बजार स्थायित्व बनाउने प्रयासमा विद्युतीय गाडी बिक्रेताहरु उभिएका छन् ।
उनीहरूले बजार राम्रो भइरहेको अवस्थामा आफ्नो नाफा नै कटाएर आगामी दिनमा समेत मूल्य नबढाउने छलफल सुरु गरेका छन् । यद्यपि अहिले निर्णय नै गर्ने अवस्थामा भने गाडी बिक्रेता पुगिसकेका छैनन् ।
नेपालमा धेरै बिक्री हुनेमा टाटा र बीवाईडीका धेरै मोडलहरू रहेका छन् । साथमा अन्य ब्राण्डका गाडीहरूले समेत त्यत्तिकै बजार पाइरहेका छन् ।
टाटाको नेपालको गाडी बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले विगतमा नेक्सन इभी धेरै नै बेचेको थियो । अहिले टाटा टिगोर इभीले राम्रो बजार पाइरहेको छ ।
सिप्रदीका सीईओ राजन बाबु श्रेष्ठका अहिले बजार निराशाजनक नै रहेको रहेको बताउँछन् । उनी भन्छन्, निराशाजनक र कर बढेको अवस्थामा पनि उपभोक्ताको हितमा काम गर्ने योजना भैरहेको छ ।’ कसरी बजारलाई चलायमान बनाउने र व्यवसायलाई टिकाउने भन्ने सोचमा उनी डुबेका छन् ।
उनका अनुसार सिप्रदीको समग्र बजारको कुरा गर्दा सामान्य अवस्थामा कर्सियल भेइकल मासिक १ हजार बिक्रि हुने गरेको थियो । अहिले १ सय ५० वटा मात्रै बिक्रि रहेको छ । टाटा टिगोर १६ सय वटा बिक्रि भएको छ । ५ सय नाडा अटो सोमा नै बुकिङ भैसकेको थियो ।
सीईओ श्रेष्ठका भन्छन्, ‘आफ्नो ३ दशकभन्दा लामो अटो बजार अनुभवलाई हेर्दा अहिलेसम्म यसरी कमजोर अवस्था आएको थिएन । अहिले कम्पनी धान्न नै मुस्किल भयो ।’
सिप्रदीको पार्टसदेखि लुब्रिकेन्टको बिक्रि रहेको अवस्थामा मात्रै टिकेको उनले जानाकारी दिए । यस्तै अवस्था रहने हो भने अब विकल्प खोज्न बाध्य हुनुपर्छ ।
नेपालमा राम्रो बजार पाएको विद्युतीय गाडीेमा बीवाइडी पनि हो । यो वर्ष बीवाइडीको ४ हजार गाडी आएकोमा ३५ सय गाडी बिक्रि भैसकको छ ।
यसको नेपालको बिक्रेता कम्पनी साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ पनि बजेट भन्दा अघि आएको ५ सय गाडी मौज्दात रहेको बताउँछिन् । ती गाडीको मूल्य कर कढेपनि एक रुपैयाँ पनि नबढ्ने उनको भनाइ छ ।
उनी भन्छिन् ,‘अब भने ३ लाख देखि ६ लाख रुपैयाँसम्म मूल्य बढ्ने देखिएको छ । सरकारले कर बढाउँदा मूल्य बढेको छ । तर, त्यस बारेमा हामी अहिले छलफलको चरणमा छौं ।’ कर बढ्नु अघि नै आयातीत स्टक गाडीमा कर बढ्दैन । पुरानै मूल्यमा उपभोक्ताले पाउनु हुन्छ ।’