काठमाडौं । एनएचएसले छालाको क्यान्सरको जोखिमलाई आधा घटाउन सक्ने खोप उत्पादन गरेको छ । उक्त खोपले छालाको रोग आधा घटाउन सक्ने पुष्टि भएको छ ।
शिकागोमा रहेको अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजी)को सम्मेलनमा परीक्षण प्रस्तुत गरिएको थियो । उक्त परीक्षणमा सबैभन्दा घातक प्रकारको छालाको क्यान्सरको स्टेज ३ वा ४ बाट पीडित १५७ जना बिरामीहरू संलग्न थिए।
क्यान्सर रिसर्च युकेका अनुसन्धान र नवप्रवर्तनका कार्यकारी निर्देशक आइन फाउल्केसले यो नतिजा क्यान्सर खोपको अनुसन्धानको रोमाञ्चक, विकासशील परिदृश्यको पूरक रहेको बताएका छन् ।
शिकागोमा प्रस्तुत गरिएको दोस्रो परीक्षणले शल्यक्रियापछि स्तन क्यान्सरका बिरामीहरूको जीवन लम्बाउनको लागि यी खोपहरूले उल्लेखनीय रूपमा सुधार गर्न सक्ने देखाएको छ ।
खोप परीक्षणबाट एक भ्याक्सिनले छालाको क्यान्सरबाट ज्यान जाने वा रोग फेरि बल्झिने जोखिमलाई आधा घटाउन सक्ने पुष्टि भएको एनएचएसले जनाएको छ ।
हालसम्मकै उपचारको सबैभन्दा लामो अध्ययनमा, मेलानोमाका बिरामीहरूलाई इम्युनोथेरापी औषधि केट्रडाको साथै पर्सनलाइज्ड खोप लिइरहने भन्दा किट्रडा मात्रै लिनेहरूको तुलनामा ४९ प्रतिशतले तीन वर्ष बढि बाँच्ने देखिएको छ।
विज्ञहरूका अनुसार स्तन र आन्द्रा लगायतका अन्य क्यान्सरहरूको भ्याक्सिनको परीक्षण गर्दा पनि त्यस्तै प्रभावशाली नतिजा आउने आशा गरिएको छ।
चर्चित फार्माक्यूटिकल कम्पनीहरू मोडर्ना र एमएसडीले यी खोपको विकास गरेका हुन् । ट्युमरको विशिष्ट जेनेटिक मेक–अपको प्रयोग गर्दै यी खोप खासगरी क्यान्सरका बिरामीलाई विशेष ध्यानमा राखेर बनाइएको छ ।
बिरामीहरूलाई शल्यक्रिया गरिसकेपछि मात्र यो खोप दिइन्छ । शरीरमा रोग फर्किनबाट रोक्न क्यान्सरका सेलहरूको खोजी गर्न यसले सहयोग गर्छ ।