काठमाडौं । हिन्दुहरुको दोस्रो ठूलो पर्व तिहारको मुख्य दिन आज शनिबार भाइटिका लगाएर मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गद सप्तरंगी टिका लगाएर मनाउने गर्छन् ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ । आज सप्तरंगी टिका लगाएर दाजुभाइको पूजा गर्दा अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।
भाइटिकाको उत्तम साइत ११ः०२ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा माकण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर, यमराजको स्वरुप मानिने ओखर घरको दैलोमा फोडेर परम्पराअनुसार सप्तरंगी टीकासँगै मखमली, सयपत्री, गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरंगी टीका लगाउने प्रचलन भए पनि शास्त्रमा भने पञ्चरंगी टीका लगाउने उल्लेख गरको समितिले जनाएको छ । समितिका अनुसार तिहारमा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका लगाउने शास्त्रमा उल्लेख गरिएको छ ।