नयाँ नेपाल सम्वत, आजैका दिन शंखधर साख्खाः ले देशलाई ऋणबाट मुक्त पारेका थिए

काठमाडौं । आज गोबर्धन पूजा अर्थात् यमपञ्चकको चौथो दिन । विशेष गरी नेवारी समुदायले यो दिनलाई नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । आजैबाट नेपाल संवतको नयाँ वर्ष ११४१ सुरु हुँदै छ । नेपाल संवतका प्रवद्र्धक शंखधर साख्वास्लाई मानिन्छ ।

यसैदिन शंखधर साख्वाले राष्ट्रलाई ऋणबाट मुक्त पारेको संस्कृतविदहरूले बताउँदै आएका छन् । उनलाई लिएर इतिहासकारबीच एक प्रकारको फरक मत पनि छ । उनका बारेमा अझै यहि नै हो भनेर निक्यौल हुन नसके पनि एउटा तथ्य भने निश्चित छ । उनले नै नेपाल संवत् सुरु गरे र यो अहिलेसम्म पनि कायम छ । अझै पनि यसको महत्व घटेको छैन, बरू बढेको छ ।

उनलाई ऐतिहासिक पात्र मान्नेको संख्या धेरै छन्। अहिले त उनलाई नेपालको राष्ट्रिय विभूति नै मानिन्छ । उनले घरमा ल्याएको बालुवा सुनमा परिणत भएपछि त्यसैको मद्दतले उनले जनतालाई ऋणबाट मुक्त गरेको किम्वदन्ती पाइन्छ । त्यसैको सम्झनामा नेपाल संवत्त् सुरु भएको मानिन्छ ।

उनी त्यतिबेलाका नामुद व्यापारी थिए । तिब्बतसँगको व्यापारका क्रममा शंखधर साख्वा त्यहाँका बौद्ध धर्मका ठूल÷ठूला धर्मगुरुहरूसँग सम्पर्कमा आएको हुन सक्छ र त्यसकै प्रभावमा उनले आफूले आर्जन गरेको सम्पत्ति दान गरेर जनताको ऋण मुक्त गरेको हुनुपर्छ भन्ने भनाइ पनि एकाथरिको छ ।

वंशावली र जनविश्वासलाई आधार मान्ने हो भने उनी काठमाडौंका इलाछें टोल (हालको भिमसेनस्थान) का बासिन्दा हुन् । यो टोलमा अझै पनि भीमसेनको मन्दिर रहेको छ । भिमसेन र व्यापारकाबीच नजिकको सम्बन्ध छ । कुनै समय यो टोल आफैं काठमाडौंको व्यापारको केन्द्र थियो । त्यसमाथि शंखधर साख्वा आफैंले तिब्बतसँग जोडिएको व्यापार गर्थे । काठमाडौं र तिब्बतबीचको व्यापार आफैंमा अद्वितीय र ऐतिहासिक छ ।

केशर पुस्तकालयमा रहेको वंशावलीलाई आधार मानेर भन्दा उनी राजा राघवदेवको समकालीन मानिन्छ । इतिहास पल्टाउँदै जाँदा के थाहा हुन्छ भने तिनै राजा राघवदेवको पालादेखि नेपालमा, विशेषतः काठमाडौं उपत्यकामा शक संवतको चलन सकिन्छ र सुरु हुन्छ, नेपाल संवतको। यो नयाँ संवत थियो र यहाँनिर राजा राघवदेव, शंखधर साख्वाः, तिब्बतसँगको व्यापार आदिको धेरै संयोग जोडिन आउँछ । शंखधर साख्वास्ले तिब्बत व्यापारका क्रममा अकुत सम्पत्ति कमाए । सो सम्पत्तिबाट देशलाई ऋणबाट मुक्त गरेको हो भन्ने भनाइ पनि छ ।

बौद्ध धर्ममा दानको ठूलो महत्त्व छ र यसका अनुयायीलाई दान गर्न प्रेरित गरिन्छ । शंखधर साख्वाः पनि यसबाटै प्रभावित भएर ठूलो संख्यामा दान गर्न तयार भए, जसले त्यतिबेलाको जनताको ऋण नै तिर्न पुगेको थियो। अनि त्यसकै सम्झनामा एउटा सर्वथा नयाँ संवत् नै सुरु भएको हो ।

आजै गाई, गोरु तथा गोवद्र्धन पूजा

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

गोरु पूजा
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ ।

गोवद्र्धन पूजा

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचालेर गोकुलबासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स