काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले व्यवस्थापकहरुको नेतृत्व विकास गर्ने अभिप्रायले व्यवस्थापकीय नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
२०८१ जेठ १२ देखि १४ गते सम्म होटल पबेरा, बुढानिलकण्ठ, काठमाडौंमा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका सम्पूर्ण शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका कर्मचारी सहित करिब १०० जनाको सहभागिता रहेको थियो ।
तालिम कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको प्रगति तथा नतिजा कर्मचारीहरुकै अथक मिहेनत, प्रयास र परिश्रमको फल भएकोले संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद सहित बधाई दिंदै नेपालमा लघुवित्त संस्थाहरुले प्रभावकारी रुपमा आफ्ना सेवाहरु प्रदान गरिरहेको परिवेशमा विगत केही वर्षदेखि लघुवित्त क्षेत्रमा देखिदै आएको विविध खालको असहज परिस्थितिको बाबजुद पनि विचलित नभईकन ग्राहकलाई सर्वोपरी मानि आफ्नो सेवाहरु उच्च मनोबलका साथ निरन्तररुपमा प्रदान गर्दै आफनो कार्यसम्पादन गर्न निर्देशन दिए ।
विविध सूचकांकको आधारमा विगत पाँच वर्षको वृद्धिदर हेर्दा यस वित्तीय संस्थाले लघुवित्त बजारमा आफ्नो बलियो उपस्थिति जनाएको र यसको सम्पूर्ण श्रेय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा जाने बताउँंंदै भविष्यमा समेत आवश्यकताको पहिचान गरी कर्मचारीहरुलाई यस संस्थाबाट तालिमहरु प्रदान गर्दै जाने योजना रहेको बताए ।
तालिम समापन कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष बिजय मान नकर्मी तथा सञ्चालकहरुले सहभागीहरुलाई आवश्यक मार्गनिर्देशन सहित अन्तरक्रिया गर्दै तालिमको विषयवस्तुहरुमा सिकेका कुराहरुको जानकारी लिई सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
सञ्चालक समितिका अध्यक्ष बिजय मान नकर्मीले आर्थिक वर्ष २०७९/८० मा विविध विधामा सर्वोत्कृष्ट हुन सफल शाखा कार्यालयहरुलाई पुरस्कृत गरेका थिए । संस्थाले हासिल गरेको प्रगतिमा कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा संस्थाको थप उन्नती र प्रगतिको लागि लघुवित्त क्षेत्रमा हाल देखा परेका चुनौतिहरुबाट विचलित नभईकन दत्तचित्त भएर कार्य गर्न शुभकामना व्यक्त गरे ।
राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ७५ शाखा कार्यालयहरु मार्फत ७५ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब ९२ करोड बचत संकलन गरी करिब ४ अर्ब लगानी गरेको छ ।