काठमाडौं । आज तिहार तथा यमपञ्चक तेस्रो दिन । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी मातालक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।
सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने जन विश्वासका साथ आज मातालक्ष्मीको पूजा तथा आरधना गरिन्छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर र रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, चोटा, कौसी, अटाली र भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी प्रवेशका लागि बाटो बनाइन्छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली उज्यालो बनाइन्छ । हाल पालामा दियोको स्थानमा मैनबत्ती बाल्ने प्रचलन पनि छ । दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा हो । यद्यपि पछिल्लो समय मइन बत्ती तथा इलेक्ट्रिक बत्तीहरू बालेर घर झिलिमिली बनाउने प्रचलन बढ्दै गएको छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।
लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
आज साँझ युवती समूह बनाइ घरघरमा भैलो खेल्न जाने प्रचलन पनि छ । भगवान्न विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तिनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएको र वरदान पाएका बलिराजाले भलो होस भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो ।
भैलो खेलन आउनेलाई भैलीलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । यसरी कात्तिकमा दान दिँदा राम्रो हुने र पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।