पूर्वाधारको पर्खाइमा कोरला नाका

मुस्ताङ । चिनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाका पूर्वाधारको पर्खाइमा छ ।

गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि खुलाइएको कोरला नाकाको नेपालतर्फ भौतिक संरचना अभावमा ब्यापारी, स्थानीयबासी र पर्यटकलाई समस्या भएको हो । ४ वर्षपछि खुलेको कोरला नाकाको नेपालतर्फ पूर्वाधार नहुँदा व्यवसायिक रुपमा लाभ लिन नसकेको लोमान्थाङका व्यवसायी टसी नर्बु गुरुङले बताए ।

नेपाल तर्फको सिमानामा भन्सार, सामान भण्डारण, सुरक्षा निकायका लागि भवन लगायतका पूर्वाधार अभावमा कोरला नाका ब्यवसायिक रुपमा चल्न नसकेको हो । चनले १ दिनमा १ जना मात्र जान पाउने र गाडी लैजान नदिने नियम बनाएकाले झोला र बोरामा अटाउने मात्र सामान ल्याउने गरेका छन् । चिनीया बजारबाट सामान किनेर नेपाली भूगोलमा रहेको गाडीमा राखेर ल्याउनुपर्दा झञ्जट भएको छ ।

कोरलाबाट ल्याएको सामान जाँचपास गराउन १३ किलोमिटर तल नेचुङमा रहेको भन्सार कार्यालय र प्रहरी चेकपोष्टमा ल्याउनुपर्दा झञ्जट भएको होे । नाकामा भन्सार र सुरक्षा निकायको नियमित उपस्थितिका लागि भवन, खानेपानी, सञ्चार सुविधा र शौचालयको आवश्यकता छ ।

कोरलामा १० किलोमिटर तलबाट गाडीमा पिउने पानी ओसार्ने गरिएको छ । कोरला घुम्न जाने पर्यटक र ब्यापारीहरुका लागि छोसेरका ब्यवसायीहरुले त्रिपालको अस्थायी टहरा बनाएर चिया तथा खाजा पसल सञ्चालन गरेका छन् । समुन्द्रि सतहदेखि ४ हजार मिटर भन्दा बढी उचाईमा रहेको कोरलामा चिया तथा खाजा पसल खुलेपछि पर्यटक र ब्यापारीलाई राहत मिलेको छ ।

चिनिया बजारबाट स्थानीयबासीले दैनिक उपभोग्य, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । नेपालतर्फबाट चामल, फापरको पिठो, चिउरा, चाउचाउ, जडिबुटी, पश्मिना लगायत सामान निकासी गर्न सकिने सम्भावना रहेको छ । हाल चिनबाट आयात मात्र भएको छ । नेपाली सामान चिनतर्फ निकासी हुन सकेको छैन् ।

चिनतर्फ निर्माण भएको भवनभित्र पसलहरु छन् । चिनले कोरला सम्म कालोपत्र सडक निर्माण गरेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जारी गरेको प्रस्थान प्रवेशपत्र भएका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा कोरलाको चिनीया बजारमा जान पाउँछन् । करिब १ हजार जनाले प्रस्थान प्रवेशपत्र लिएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नाकामा गण्डकी प्रदेश सरकारले प्रिफेक प्रबिधिको ३ कोठे भवन बनाउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स