‘रेमल’ चक्रवातको प्रभाव नेपालमा आज पनि पर्ने, सबै प्रदेशमा मेघगर्जन/चटयाङसहित वर्षा

काठमाडौ । उत्तरी बंगालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवातको प्रभाव नेपालमा पनि पर्ने भएको छ । रेमल चक्रवातको कारण चार प्रदेशका बासिन्दालाई दुई दिन सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।

उक्त शक्तिशाली चक्रवात प्रत्यक्ष रूपमा नेपाल प्रवेश नगर्ने भए पनि यसको अप्रत्यक्ष प्रभावबाट सोमबार र मंगलबार कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा चट्याङ, हावाहुरीसहितको वर्षा हुने महाशाखाले जनाएको छ ।

बागमती प्रदेशको थोरै स्थानमा मेघगर्जन/चटयाङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक/दुई स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

सोमबार र मंगलबार दैनिक जनजीवन, कृषि, पर्यटन, सडक तथा हवाई, यातायातलगायत क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध छ ।

महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शनिबार साँझ नै चक्रवातमा परिणत भई हाल शक्तिशाली चक्रवात बनेको छ । उक्त चक्रवातको नाम ‘रेमल’ राखिएको छ। यो चक्रवात भारतको पश्चिम बंगाल तथा बंगलादेशको तटीय क्षेत्रतर्फ अगाडि बढिरहेको देखिन्छ।

यो चक्रवात आज राती बंगलादेश र पश्चिम बंगाल आसपसको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बंगलादेश र पश्चिम बंगालमा पनि मौसमविद्ले चेतावनी जारी गरेका छन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स