बजेट पछि ३ महत्वपूर्ण संस्थानमा नेतृत्व छानिदै, सत्ता साझेदारलाई भागबण्डामा सहज

काठमाडौं । संघीय सरकारको जेठ १५ गते बजेट कार्यक्रम सार्वजनिक हुँदैछ । बजेट लगत्तै ३ वटा संस्थानको कार्यकारी प्रमुख नियुक्तिको लागि सरकारले ठिक्क पारेको छ ।

नेपाल धितोपत्र बोर्ड, राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमा कम्पनी लिमिटेड गरि तीन संस्थान कार्यकारी प्रमुखको चयन हुँदै छ । तीन वटै संस्थानको कायर्कारी नेतृत्वको लागि आवेदन गरेर संक्षिप्त सूची समेत तयार भैसकको छ ।
धितोपत्र बोर्डमा अध्यक्षमा हालका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ, धितोपत्र बोर्डमै कार्यकारी निर्देशक रहेका मुक्तिनाथ श्रेष्ठ छन् । अन्तिम ५ भित्र पर्नेमा सन्तोषनारायण श्रेष्ठ र नवराज अधिकारी पनि छन् । श्रेष्ठ विभिन्न वित्तीय संस्थाका सञ्चालक रहेका व्यक्ति हुन् । अधिकारी धितोपत्र बोर्डमै छन् ।

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पाँच जनाको नाम छनोट गरिएको छ । बैंकको सीईओ छनोट तथा सिफारिस समितिले ५ जनाको नाम सर्ट लिष्ट गरेको हो । कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी सर्ट लिष्ट परेका छन् ।

त्यस्तै गरि नेपाल पुनर्बीमा कम्पनीमा सीईओमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्ध काजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा संक्षिप्त सूचिमा समावेश भएका छन् ।यसरी संक्षिप्त सूची तयार गरेको सरकारले अब नियुक्तिको प्रक्रियाको लागि यी तीनै संस्थानको अन्तरवार्ताको तयारी गरेको छ ।

अर्थमन्त्री मार्फत तीन नै संस्थानको कार्यकारी प्रमुखको लागि मन्त्रीपरिषद्मा सिफारिस हुनेछ । तर सत्ता साझेदारले पनि आफ्नो भाग खोज्ने छन् । तीन संस्थानको एक साथ नियुक्ति हुने भएकोले भागबण्डा गर्न सहज हुने भएको छ । अर्थमन्त्री र प्रधानमन्त्री दुबै माओवादीबाट छन् । उनीहरुले अहिले धित्रोपत्र बोर्डको अध्यक्षमा बढि चासो देखाएकाकोले माओवादीबाट बोर्ड अध्यक्ष हुने देखिएको छ । प्रमुख सत्ता साझेदारमा नेकपा एमाले साथै राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकिकृत समाजवादी रहेको छ । यी तीन दलबाट दुईवटा संस्थानको भागबण्डा हुने देखिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स