गगन थापाले दिए अब हुने चुनावमा सिङ्गल–सिङ्गल लड्न चुनौती

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब हुने तीनै तहको चुनावमा नेकपा एमालेलाई हराउन कार्यक्रममा उपस्थित जनताहरुलाई आग्रह गरेका छन् ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले एमालेलाई स्थानीय तह, प्रदेश र केन्द्रमा अब हुने चुनावमा हराउनुपर्ने बताए ।

‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो । बढार्दा कुनाकाप्चामा धुलो अड्कियो भने भ्याकुम लगाउने हो,’ थापाले भने ।

‘सिङ्गल–सिङ्गल लड्ने भनेको होइन ? हामी विगतमा सिङ्गल नै लडेर पहिलो पार्टी बनेको हो,’ थापाले भने । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लाएक्लै प्रतिस्पर्धामा आउन केही समयअगाडि चेतावनी नै दिएका थिए।

उनले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई आफूले दुई पटक भेटेर सरकारले गरेका राम्रा र नराम्रा कामबारे जानकारी गराएको र नराम्रा काम नगर्न आग्रह गरेको पनि बताए । कांग्रेसले अहिले सरकारको नेतृत्व लिएको र जिम्मेवारी पूरा गरिने पनि उनले बताए ।

उनले एमाले पार्टी नभई ओली एन्ड कम्पनी भएको आरोप लगाए । ‘एमालेमा फरक मत राख्ने दुई जना मात्रै देख्छु, भीम रावल र घनश्याम भुसाल । बाँकी कोही हुनुहुन्न,’ उनले भने, ‘एमाले फुट्यो अहिले ओली एन्ड कम्पनी भएको छ।’

वैशाखमा स्थानीय तहको चुनाव हुने, तर अर्ली इलेक्सनको सम्भावना नरहेको, उनको भनाइ छ ।

राष्ट्रिय सभाको रिक्त हुने सदस्य पदमा चुनाव हुँदैछ भने प्रतिनिधि सभा र प्रदेश सभाका रिक्त पदमा पनि उपनिर्वाचनको तयारी भैरहेकोछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स