सहकारी ठगीः संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन अहिले बैठक

काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्न गठित संसदीय समितिको कार्यादेश टुंगो लगाउन आज बैठक बस्दैछ । आज बिहान साढे ८ बजे कार्यदलको बैठक बस्न लागेको हो ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएपछि उनीहरू फेरि बैठक बसेका हुन् ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठनका लागि सहमत पनि भएका छन् । सत्ता र प्रतिपक्ष दलहरुको शनिबार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउने सैद्धान्तिक सहमति भएको थियो ।

आज बिहानको बैठकमा छलफलपछि समितिको टिओआर टुंगो लगाइने छ ।

संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल पनि सोही दिन गठन भएको थियो। कार्यदलमा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सांसद जीवन परियार, रास्वपा सांसद शिशिर खनाल रहेका छन् ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाल कांग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको थियो। प्रतिपक्षीको माग सम्बोधन भएकोले आज आइतबारबाट सदनको गतिरोध अन्त्य हुने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स