काठमाडौं । धितोपत्र बार्डको अध्यक्ष नियुक्ती प्रक्रिया हाललाई स्थगन भएको छ । योजना आयोगको उपाध्यक्ष मीन बहादुर श्रेष्ठ संयोजकत्वको समितिले ५ जनाको नाम ‘सर्ट लिष्टिङ’ गरेपछि अन्तरवार्ता नभईकन प्रक्रिया स्थगित गरिएको छ।
अन्तरवार्ता नहुँदै अर्थमन्त्री र छनौट समितिलाई दबाव आएको छ । लामो समय देखि पुँजीबजारको नियमन गर्ने निकाय बोर्ड नेतृत्वविहीन छ । गत मंसिरमा रमेश हमाल बाहिरए पछि बोर्ड नेतृत्वविहीन हुन पुगेको हो ।
नयाँ अध्यक्ष नियुक्तिका लागि गत फागुन ३० गतेलाई अन्तिम म्याद राखी आवेदन माग भएको थियो। सरकारद्वारा गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले धितोपत्र बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त आह्वान गरेको थियो ।
१९ जनाले आवेदन दिएकोमा ५ जना संक्षिप्त सूचीमा समावेश भएका छन् । यसरी प्रक्रिया रोकिनुमा सत्ता साझेदारहरुको दबाव देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री वर्षमान पुनलाई फोन गरेर सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष छनौट प्रक्रियामा लानुस् भने पनि अहिले स्थगित भएको हो । श्रेष्ठसँग नयाँ स्टक एक्सचेन्जको लाइसेन्स माग गर्ने समूह जोडिन्छ । स्वार्थ समूहको नेतृत्व गरेको व्यक्तिलाई अध्यक्ष दिन दबाव आएपछि अहिले प्रक्रिया स्थगित भएको हो ।
५ जनामा हालका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ, धितोपत्र बोर्डमै कार्यकारी निर्देशक रहेका मुक्तिनाथ श्रेष्ठ, विभिन्न वित्तीय संस्थामा सञ्चालक रहेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डकै नवराज अधिकारी छन् ।
कार्की कुनै पनि समूहसँग जोडिदैनन् । नेप्सेमा हाल स्वच्छ रुपमा काम गर्दै आइरहेका छन् । उनी बाहेक अन्य व्यक्ति कुनै न कुनै व्यपारीक समूहको एजेडण्डा बोक्नेमा देखिएका छन् ।
धितोपत्र बोर्डलाई नेपाल राष्ट्र बैंकपछिकै दोस्रो ठूलो नियमनकारी निकाय हो । बोर्डसँग ३१ खर्ब ८० अर्ब हाराहारी आकारको पुँजीबजार जोडिएको छ।
पुँजीबजारमा हाल एउटा स्टक एक्सेन्ज, एउटा सीडीएस एन्ड क्लियरिङ लिमिटेड, तीनवटा क्रेडिट रेटिङ, २९ वटा मर्चेन्ट बैंकर्स, १६ वटा फण्ड म्यानेजर र ८४ वटा ब्रोकर कम्पनीलगायत ३ सय १८ वटा बजारसम्बद्ध निकायहरु छन् ।
एमाले अध्यक्ष ओलीले अध्यक्ष बनाउन चाहेका सन्तोष नारायण श्रेष्ठ भने नयाँ स्टकको लागि आवेदन दिएको हिमालयन स्टकसँग जोडिएका व्यक्ति हुन् । उनी व्यवसायी दीपक भट्ट नजिकका पात्रको रुपमा हेरिएको छ । भट्ट माफर्त ओलीले अर्थमन्त्री र छनौट समितिलाई दवाव दिएका छन् ।
नयाँ लाइसेन्सको लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जका नाममा ३ आवेदन परेको छ । हिमालयन स्टक एक्सचेञ्जको मुख्य लगानीकर्ताहरूमा इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट, शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरू शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष सतीश मोर मुख्य लगानी कर्ता हुन् ।
ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मित्सुबिसी कम्पनीको आधिकारिक बिक्रेता आशिष श्रेष्ठ, शिवम् सिमेन्टका सञ्चालक तथा साओमी मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता रोहित गुप्ता, मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवाल, विवेक दुगड र राजेन्द्र खेतान रहेका छन् ।
आवेदन दिने नेसनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशी, रविजंग लामिछाने रहेका छन् ।
अन्नपूर्ण स्टक एक्सचेन्जका लगानीकर्ताहरूमा रामेश्वर थापा, गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती रहेको आवेदनमा देखिएको छ ।