काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीको आम्दानी घटेपनि कर खर्च घटेका कारण खुद नाफामा सामान्य सुधार देखिएको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी ६.८२ प्रतिशत घटेर २५ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ ।
कम्पनीको वित्तीय आम्दानी ८.९० प्रतिशत घटेको छ भने कुल आम्दानी ६.०३ प्रतिशत घटेको छ । सो अवधिमा कम्पनीको वित्तीय खर्च ६६.८२ प्रतिशत घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३५ पैसा बढेर ४१ रुपैयाँ ४४ पैसा पुगेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२ रुपैयाँ ९९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.१३ गुणा रहेको छ ।
१८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७४ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ सञ्चित छ ।