काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रवेश भएको छ । उनको प्रवेशसँगै सत्ता गठबन्धन नै धरापमा परेको छ।
नेकपा एमाले अध्यक्ष ओलीले आफूले भनेको बाहेक अन्य व्यक्ति बोर्ड अध्यक्ष हुन नहुने शर्त राखेपछि विवाद चर्किन थालेको देखिएको हो ।
बोर्ड अध्यक्ष छनोट समितिले उत्कृष्ट पाँच जनाको नाम छनौट गरेको छ । बोर्ड अध्यक्ष बन्नका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, हालको बीमा प्रधिकरण साबिकको बीमा समितीका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, बोर्डका निर्देशकहरु मुक्ति श्रेष्ठ, डा. नवराज अधिकारी र दिपक भट्टका व्यावसायी पार्टनर सन्तोष नारायण श्रेष्ठ उत्कृष्ट पाँच जनामा समावेश छन् ।
चैत २५ गते नै उत्कृष्ट पाँच जनाको छनौट भएपनि तर हालसम्म पनि अन्तर्वार्ता हुन सकेको छैन । बोर्ड अध्यक्षमा ठूलो कर्पोरेट घराना २ धारमा बाँडिएपछि विवाद चर्किएको हो । बोर्ड अध्यक्ष नियुक्तिलाई लिएर पाँच अर्बको बोली लागेपछि गठबन्धन नै संकटमा देखिएको हो ।
पछिल्लो समय अध्यक्ष ओलीले बुटवलका सन्तोष नारायण श्रेष्ठ नै बोर्ड अध्यक्ष बन्नु पर्ने अडान राखेपछि सत्ता गठबन्धन नै धरापमा परेको हो । स्रोतका अनुसार आफूले भनेको व्यक्ति बोर्ड अध्यक्ष नभए सत्ता समिकरण नै फेरिदिने धम्की ओलीले दिन सुरु गरेका छन् । यसरी ओली श्रेष्ठलाई लिएर अघि बढ्नुमा आफूलाई व्यवसायी बताउने दिपक भट्ट जोडिएका छन् ।
सन्तोष नारायण श्रेष्ठ नेपाली काँग्रेस निकटका व्यक्ति हुन् । उनी नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रका व्यक्ति हुन् । नेपाली काँग्रेस र नेकपा एमालेका तर्फबाट श्रेष्ठ साझा उम्मेदवार बनेपछि माओवादी संसकित बनेको छ । यो समिकरण मिलाउन भट्ट नै प्रमुख पात्र हुन् ।
बोर्ड अध्यक्ष बनाउन लागि परेका आफूलाई व्यवसायी बताउने दिपक भट्टले श्रेष्ठलाई बालकोट र बुढानिलकण्ठको साझा उम्मेदवार बनाएपछि अहिले माओवादी शसंकित बनेको हो । बोर्ड अध्यक्ष नियुक्तिलाई लिएर अध्यक्ष ओलीले आफ्नो सक्रियतालाई बढाएका छन् ।
ओलीले बोर्ड अध्यक्ष नियुक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै भेटिसकेका छन् । भेटमा दाहालले ओलीको प्रस्ताव सिधैं स्वीकार नगरेर अर्थमन्त्रीलाई मनाउनु पर्ने बताएपछि ओलीले अर्थमन्त्री वर्षमान पुनलाई फोन गरेर धम्की दिएका छन् । ओलीले बोर्ड अध्यक्षमा श्रेष्ठकै नाम सिफरिस गर्न चर्को लबिङ गरेका छन् ।
स्रोतका अनुसार बोर्ड अध्यक्ष दाबेदार श्रेष्ठलाई छनौट समितिले सबैभन्दा धेरै नम्बर दिएर राखेको छ । यो सूचना पाएसँगै अर्थमन्त्री वर्षमान पुनले बोर्ड अध्यक्ष छनौट प्रकृया नै रोकेका थिए । सबैभन्दा कम क्षमताका व्यक्तिलाई धेरै नम्बर दिएर अघि बढाउन खोजिएपछि छनौट समिति संयोजक डा. मिन बहादुर श्रेष्ठकै चर्को आलोचना भैरहेको छ ।
अर्थमन्त्री वर्षमान पुनले कृष्ण बहादुर कार्कीलाई अध्यक्ष बनाउन चाहेका छन् । तर बोर्ड अध्यक्ष बनाउनका लागि दिपक भट्टले पाँच अर्ब वितरण गर्न सकिने भन्दै राजनितिक नेतृत्व समक्ष पुगिरहेका छन् । भट्ट यसरी लाग्नुमा बोर्डबाट नयाँ स्टक एक्सचेन्जको लाइसेन्स देखिएको छ । नयाँ लाइसेन्सको लागि तीन वटा आवेदन परेको छ । त्यस मध्ये हिमालयन स्टकको भट्ट समूहको हो ।