काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
समिक्षा अवधिमा कम्पनीले ५९ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलानामा १०९.६६ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले २८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद बीमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानीमा वृद्धि भएसँगै नाफा पनि बढेको हो ।
कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ३२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको ५५ करोड ६९ लाखको तुलनामा १३८.५५ प्रतिशतले बढी हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी २ करोड ५७ लाख,कमिशन आम्दानी २६ करोड ५८ लाख, लगानी तथा कर्जा आम्दानी ५२ करोड ७३ लाख र अन्य आम्दानी ८६ लाख २३ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको कुल आम्दानी २ अर्ब १५ करोड र खुद दाबी भुक्तानी ६६ करोड २५ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ३० करोड कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार १६ करोड ७४ लाख र रिटेन्ड अर्निङ ७१ करोड २ लाख रुपैयाँ बराबर रहेको छ ।
चैत मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष १९.६८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर २८.३७ रुपैयाँ (वार्षिक) कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २५४.५९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५०५.७० रुपैयाँ तरलता अनुपात १.०५ प्रतिशत र मूल्य आम्दानी अनुपात २६.४४ गुणा कायम भएको छ ।