काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १७ करोड ५७ लाख रुपैयाँँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.१८ प्रतिशत कम हो । बैंकले २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी र उल्लेख्य रुपमा सञ्चालन आम्दानी बढेतापनि बैंकले गैर सञ्चालन आम्दानी गर्न नसक्दा बैंकको नाफामा संकुचन आएको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.९० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १९५.६७ प्रतिशत बढेको छ । बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा २७.६८ प्रतिशत बढेको छ । खर्चका यी सबै सूचक बढ्दा यसको असर नाफामा परेको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष १५.८६ प्रतिशतले बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ०.७३ प्रतिशत घटेको छ भने कर्जा ७.३० प्रतिशतले मात्र बढेको छ ।
चालु आर्थिक वर्षको वित्तयि विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा कायम भएको छ । यस बैंकको मूल्य आम्दानी अनुपात २५.७६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ८३ पैसा रहेको छ ।