आज बेलुकाबाट यमपञ्चक शुरु, भाइटीकाको उत्तम साइत ११.०२ मिनेटमा

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । आज बेलुकी यमदीपदान गरेसँगै यमपञ्चक सुरु हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग र कुकुर तिहार भोलि कात्तिक १७ गते परेको समितिले जानकारी दिएको छ । त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

‘आज बेलुकाबाट भोलि बिहान ७.१४ बजेसम्म त्रयोदशी तिथि छ,’ उनले भने ‘ त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान ७.१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा पनि सोही दिन परेको छ ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्नुपर्छ । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक १९ गते शुक्रबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोबर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ नेपाल संवत् ११४२ शुरु हुन्छ ।

कात्तिक २० गते शनिबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः०२ बजे भाइटीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २० गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स