बैंक तथा वित्तीय संस्थाको एक तिहाईभन्दा बढी शाखा वागमती प्रदेशमा

देशमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरू वागमती प्रदेश केन्द्रित रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । वागमती प्रदेशमा मात्रै एक तिहाईभन्दा बढी शाखा रहेका छन् । बैंक तथा वित्तीय संस्थाको कुल शाखामध्ये ३४ प्रतिशत शाखा वागमतीमा नै रहेको अध्ययनले देखाएको हो ।

राष्ट्र बैंकले गरेको ‘नेपालको संघीय संरचना अन्तर्गत वित्तीय क्षेत्रको स्रोत परिचालन’ विषयक अध्ययन प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ प्रतिशत र कुल कर्जाको ५६.६ प्रतिशत वागमती प्रदेशमा रहेको छ ।
अध्ययन प्रतिवेदनले मूलतः प्रदेशगत आधारमा वित्तीय संस्थाहरूको पहँुच, निक्षेप परिचालन र कर्जा प्रवाहको स्थिति विश्लेषण गरेको छ । यसबाहेक गरिब, विपन्न, वेरोजगार र महिलालगायतले सञ्चालन गरेका व्यवसाय प्रवद्र्धन गर्न कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा तथा पुनरकर्जा सुविधाको समेत प्रदेशगत विश्लेषण अध्ययनले गरेको छ ।

वित्तीय पहुँच र साधन परिचालनको विश्लेषणमा सम्पूर्ण बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ वित्तीय संस्था र सहकारी संस्थाहरूसमेत समेटिने भए तापनि यो अध्ययन मूलतः वाणिज्य बंैक, विकास बैंक र वित्त कम्पनीको शाखा विस्तार र कारोबारमा केन्द्रित रहेको छ ।

अध्ययनले विभिन्न परिसूचकहरूको विश्लेषणका आधारमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन वागमती प्रदेशमा केन्द्रित रहेको देखाएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्यून देखिएको छ ।

अध्ययनले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहुँच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ ।

पछिल्ला वर्षहरूमा बाग्मती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक रूपमा विस्तार भइरहेको अध्ययनले देखाएको छ । सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको पहुँच बाग्मतीबाहेकका प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको छ ।

औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकताप्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हुँदै गएको छ । तथापि, वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने खाँचो अध्ययनले औल्याएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स