घट्ने भयो ब्रोकर कमिशन, अर्थ मन्त्रालयले सेबोनलाई पठायो कमिशन घटाउने आशयपत्र

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ब्रोकर कमिशन घटाएका छन् । अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भन्दै ब्रोकर कमिशन घटाउने पुरानो सिफारिसलाई अगाडि बढाउन सकिने आशयको नेपाल पत्र धितोपत्र बोर्ड ९सेबोन० लाई पठाएको हो ।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीकाअनुसार ब्रोकर कमिशन घटाउन सिफारिस भएको पुरानो फाइल अगाडि बढेको र यसलाई कार्यान्वयन गराउने वा नगराउने पूर्ण अधिकार धितोपत्र बोर्डमै निहित रहनेछ ।

सेबोनका तत्कालीन अध्यक्ष रमेश हमालले दशैं अघि नै सो कमिशन घटाउन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका थिए । अहिले सेबोन अध्यक्ष नियुक्ति हुन सकेको छैन । यस्तो अवस्थामा अर्थ मन्त्रालयका प्रतिनिधिले नै सेबोनमा अध्यक्षको हैसियतमा काम गर्न पाउने व्यवस्था गरेको छ ।

मन्त्रालयले पठाएको आशय पत्र अनुसार सेबोनले काम गर्ने हो भने ब्रोकर कमिशन घट्छ नै, अर्थका उच्च अधिकारीले भने । कात्तिक १ गते ब्रोकर कमिसनलाई समय सान्दर्भिक बनाउनका लागि केही घटाउने निर्णय गर्दै अर्थ मन्त्रालयमा अनुमोदनका लागि सिफारिस गरेको थियो । अहिले मन्त्रालयले अनुमोदन गरिदिएको छ ।

अर्थ मन्त्रालयले सिफारिसअनुसार अगाडि बढ्न सकिन्छ भन्ने आशयको पत्र सेबोनलाई पठाएको हो । अर्थ मन्त्रालय स्रोतका अनुसार धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकबाट यो विषयमा निर्णय नभएसम्म अर्थबाट गएको अनुमोदनको निर्णय कार्यान्वयनमा जाँदैन । सेबोनले आफैले ब्रोकर कमिशन घटाउन प्रस्ताव पठाएकोले अब सेबोनले भने अनुसारनै ब्रोकर कमिशन घट्ने जानकारी अर्थ मन्त्रालयले दिएको छ ।

लामो समयसम्म अर्थ मन्त्रालयमै अड्किएको फाइल कार्यान्वयनको बाटो अर्थ मन्त्रालयले खोलिदिएको हो । धितोपत्र बोर्डले कात्तिकमा गरेको सिफारिसअनुसार ब्रोकर कमिसन घटाउने सञ्चालक समितिबाट समेत निर्णय भएमा लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रुपैयाँ भन्दा माथिको कारोबारमा ०.२४ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्ने हुन्छ ।

सेयर लगानीकर्ताले अहिले भने ५० हजार रुपैयाँसम्मको कारोबारमो ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँमाथिको कारोबारका लागि ०.२७ प्रतिशत ब्रोकर कमिसन बुझाउँदै आएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स