गोरखा जिल्लामा ८५ हजार घरमध्ये ६६ हजार घरमा मात्र मानिसको बसोबास

गोरखा । गोरखा जिल्लामा करिब ८५ हजार घर सूचीकरण भएकामा झण्डै १९ हजारमा मानिसको बसोबास नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको कार्यक्रमअन्तर्गत जिल्लाभित्र गरिएको घरपरिवार सूचीकरणमा करिब ८५ हजारको घर सूचीकरण भएकामा त्यसमध्ये करिब ६६ हजार घरमा मानिस बसोबास गरेको पाइएको तथ्याङ्क कार्यालयका प्रमुख महेशप्रसाद ढुङ्गानाले जानकारी दिए ।

जिल्लाभित्र यही भदौ ३० गतेदेखि असोज १८ गतेसम्म गरिएको घरपरिवार सूचीकरणको प्रारम्भिक तथ्याङ्कअनुसार १९ हजारभन्दा बढी घरमा मानिस बसोबास नरहेको पाइएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको उनले बताए । मानिस बसोबास नभएका घरमध्ये केही बसाइँसराइ गरी गएका तथा बाहिर घर भएर पनि भूकम्पीय जोखिममा रहेको पाइएको प्रमुख ढुङ्गानाले जानकारी दिए ।

प्रारम्भिक तथ्याङ्कमा जिल्लामा ६६ हजार घरमा मानिसको बसोबास भए पनि परिवारको सङ्ख्या भने करिब ७१ हजार रहेको छ । ‘तथ्याङ्क सङ्कलनका क्रममा कतिपय एउटा घरमा दुई परिवारसमेत बसोबास गरेको पाइएको छ, उनले भने,‘जसले गर्दा मानिस बसोबास गरेको घरको सङ्ख्याभन्दा परिवारको सङ्ख्या झण्डै पाँच प्रतिशतले बढी हुन आएको छ ।’

घरपरिवार सूचीकरणको तथ्याङ्क सङ्कलनमा खटिएका ९८सुपरीवेक्षले जिल्लाभित्र रहेका कृषिको लगत, सरकारी अनुदानमा घर निर्माण भए नभएको, प्राविधिक शिक्षा लिए नलिएको, बैंकसँग ऋण लिए नलिएको बारेमा पनि तथ्याङ्क सङ्कलन गरिएको थियो ।

जिल्लामा यही कात्तिक २५ गतेदेखि हुने मुख्य जनगणनाका लागि ४०२ गणक परिचालन हुनेछन् । जनगणनाका लागि विभिन्न पाँच केन्द्र निर्धारण गरिएको कार्यालय प्रमुख ढुङ्गानाले जानकारी दिए । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नारासहित हुने जनगणनामा खटिने कर्मचारीलाई सहयोग गरी सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स