काठमाडौं । पछिल्लो ३ महिनामा वाणिज्य बैंकहरूले १५ प्रतिशतले कष्ट अफ फण्ड घटाएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको कुल कष्ट अफ फण्ड १४७.०७ प्रतिशत रहेकोमा चैतमसान्तमा आईपुग्दा १३२.०७ प्रतिशत रहेको छ । चैत मसान्तमा बैंकहरूको औसत कष्ट अफ फण्ड ६.६० प्रतिशत रहेको छ । दोस्रो त्रैमाससम्म औसतमा कष्ट अफ फाण्ड ७.३५ प्रतिशत थियो ।
बैंकहरूको कष्ट अफ फण्ड उच्च हुँदा नाफा घट्छ । यद्यपि चैत मसान्तमा बैंकहरूको कष्ट अफ घटेपनि बैंकहरूको नाफा पनि घटेको छ । पछिल्लो पटक पुँजी बढेसँगै खुम्चन थालेको बैंकहरूको नाफा अर्थतन्त्रमा देखिएको शिथिलतासँगै अझ खुम्चन पुगेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूले ५९ अर्ब ९३ करोड रुपैयाँ नाफा कमाएका छन् । यो नाफा कर सहितको नाफा हो । बैंकहरूको कर पछिको नाफा भने ४० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा बैंकहरूले ६८ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएका थिए । कर तिरेर पनि बैंकको नाफा ४८ अर्ब ७० करोड रुपैयाँ रहेको थियो ।
कसको कति कष्ट अफ फण्ड ?
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वैदेशिक लगानीमा सञ्चालित स्ट्याण्डर्ड चार्टर्ड चार्टर्ड बैंकको कष्ष्ट अफ फण्ड सबैभन्दा कम ४.४२ प्रतिशत रहेको छ भने प्राइक बैंकको कष्ट अफ फण्ड सबैभन्दा बढी ७.७५ प्रतिशत रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको यस्तो फण्ड ५.२९ प्रतिशत, नेपाल बैंकको ५.८१ प्रतिशत, एभरेष्ट बैकको ६.०३ प्रतिशत, प्रभु बैंकको ६.१५ प्रतिशत, कृषि विकास बैंकको ६.३४ प्रतिशत रहेको छ ।
त्यसैगरी माछापुच्छ्रे बैंकको ६.३७ प्रतिशत कष्ट अफ फण्ड पुग्दा सिद्धार्थ बैंकको ६.४० प्रतिशत पुगेको छ । नबिल बैंकको ६.५१ प्रतिशत पुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कष्ट अफ फण्ड ६.५७ प्रतिशत, सानिमा बैंकको ६.६० प्रतिशत, लक्ष्मी सनराइज बैंकको ६.७८ प्रतिशत, एनआईसी एशिया बैंकको ६.७९ प्रतिशत पुगेको छ ।
सिटिजन्स बैंकको कष्ट अफ फण्ड ६.९५ प्रतिशत रहेको छ भने ग्लोबल आईएमईको कष्ट अफ फण्ड ६.९६ प्रतिशत, नेपाल एसबिआई बैंकको ७.५० प्रतिशत, हिमालयन बैंकको ७.५३ प्रतिशत, कुमारी बैंकको ७.५८ प्रतिशत र एनएमबि बैंकको कष्ट अफ फण्ड ७.७५ प्रतिशत पुगेको छ ।