धितोपत्र बोर्डका अध्यक्ष र अर्थ सचिवको कुर्सी जोडियो, मरासिनी इन र पुष्कर आउटको अर्थ के हो ?

काठमाडौं । पुस २० गतेदेखि रिक्त रहेको धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा नयाँ नियुक्ति हुन सकेको छैन । नयाँ नियुक्तिको लागि प्रक्रिया अगाडी बढेपनि अहिलेलाई स्थगित गरिएको छ ।

नियुक्ति प्रक्रियामा अर्थ सचिवको पदलाई मुख्य रुपमा हेरिएको छ । अर्थ सचिव बोर्ड अध्यक्ष सिफारिस समितिको सदस्य मात्रै हुन् । तर, पनि अर्थ सचिवको कुर्सीसँग अध्यक्षको पदलाई अहिले जोडिएको हो ।

अध्यक्ष छनोट सिफारिस समिति गठन भएको छ । समिति संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ छन् ।

सदस्यमा अर्थ सचिव र अर्को सदस्यमा प्राध्यापक उदय निरौला छन् । अर्थ सचिवले सिफारिस गर्न चाहेको व्यक्तिलाई अर्थमन्त्रीले नै चाहेको व्यक्तिको रुपमा उक्त समितिले लिने गर्छ ।

बोर्ड अध्यक्षको लागि आवेदन माग भएर अन्तिम नामावली प्रकाशन गरेर अन्तरवार्ताको तयारी भएपछि प्रक्रिया स्थगन गरिएको हो ।

यसरी रोकिनुमा अर्थ सचिवले अर्थमन्त्रीको रायलाई ‘क्रस’ गरेको बुझाइ छ । आजसम्म अर्थ सचिवको रुपमा कृष्णहरि पुस्कर रहेका थिए ।

उनले अध्यक्षको अन्तिम नामावली प्रकाशनमा अर्थमन्त्रीको चाहना नबुझेको ठम्याइछ । यसलाई नै आधारित मानेर अर्थमन्त्री वर्षमान पुनले निलम्बनमा परेर कामकाजमा फिर्ता आएको ३ दिनमा नै मधुकुमार मरासिनीलाई अर्थ सचिवको रुपमा ल्याएका छन् ।

आइतबार अर्थ सचिव पुस्करसँग बोर्डको थप प्रक्रिया बारे केहि नोकझोक समेत भएको थियो । सोमबार नै अर्थमन्त्रीले नयाँ सचिवको रुपमा मरासिनीलाई ल्याएका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार मरासिनीलाई यसरी ल्याउनमा अर्थमन्त्री र पुष्करको बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया नै प्रमुख रहेको देखिएको छ ।

स्रोत भन्छ, ‘मन्त्रालयमा आइतबार अर्थ सचिव पुस्कारले मन्त्रालयको निर्णयहरु र थाती रहेका कामहरुको ब्रिफिङ गरिरहेका थिए । सोहि क्रममा बोर्ड अध्यक्षको प्रसग समेत निस्कएको थियो । जसमा अर्थमन्त्री रिसाएर तपाईले क्षमतावान मान्छेहरुलाई बाहिर राखिहाल्नु भयो समेत भनेका थिए ।’

आइतबारको यो घटना भएको १ दिनपछि अर्थात् आज नै अर्थसचिव परिवर्तन भएको छ । बोर्डको अध्यक्ष बन्नको लागि आवेदन दिएका १९ जनामध्ये ५ जना संक्षिप्त सूची चैत २५ गते छनोट गरिएको थियो ।

छनोटमा परेका ५ जनालाई सरकारद्वारा गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले चैत २९ गते अन्तरवार्ताको लागि बोलाएको थियो । तर, अहिलेसम्म अन्तरवार्ता भएको छैन । अन्तरवार्ता र कार्ययोजना प्रस्तुती अनिश्चित कालका लागि स्थगित गरिएको हो ।

निवेदन दिनेमा चिरञ्जीवी चापागाईँ कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, डा. नवराज अधिकारी, डा गोपाल प्रसाद भट्ट, निरज गिरी, डा केशव प्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा. रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रविन पन्दाक, सूर्य प्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा विमल कुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल , कृष्णबहादुर कार्की रहेका छन् ।

आवेदन दिने १९ जनामध्ये संक्षिप्त सूचीमा समावेश हुनेमा हालका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ, धितोपत्र बोर्डमै कार्यकारी निर्देशक रहेका मुक्तिनाथ श्रेष्ठ विभिन्न वित्तिय संस्थाको संचालक समितिमा रहेर काम गरेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका निमित्त अध्यक्ष नवराज अधिकारी पनि हुन् ।

अन्तिम नामावलीमा अटाएका सन्तोष नारायण श्रेष्ठ प्रति अर्थमन्त्रीको असन्तुष्टि रहेको छ । उनलाई अन्तिम नामावलीमा नअटाउन अर्थमन्त्रीले अर्थ सचिवलाई भनेका थिए ।

तर, कृष्णहरि पुस्करले उनको आशय नमानेको देखिएको छ । फलस्वरुप उनी अर्थ सचिवबाट नै हट्न बाध्य भएका छन् ।
आज पुष्करको विदाई र मरासिनीको स्वागत कार्यक्रममा समेत सोहि संकेत देखिएको छ । मरासिनीले आफू अर्थमन्त्रीको आशय बुझेर काम गर्ने बताएका छन् । जुन भनाइ समेत धितोपत्र बार्डको अध्यक्ष छनोटसँग सम्बन्धीत देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स