महालेखा परीक्षकमा तोयम राया नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उनी ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा भएका हुन् । रायासँग सीडियो, भन्सार विभागको महानिर्देशक भएर काम गरेको अनुभव छ । उनले सचिवका रुपमा प्रदेश १ को प्रमुख सचिव, श्रम मन्त्रालयको सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व गरिसकेका छन् । रायालाई निजामति प्रशासन भित्र एमाले क्याडरका रुपमा चिनिन्छ । राया यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए ।

को हुन् राया ?

महालेखा परिक्षकमा सिफारिस भएका तोयम रायाल त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनाचार्य, व्यवसाय शास्त्राचार्य, र सार्वजनिक प्रशासनाचार्य शैक्षिक उपाधि हासिल गरेका छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गरेका छन् । वि.सं. २०५१ मा शाखा अधिकृतबाट नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेका उनी वि.सं. २०७६ भाद्रदेखि नेपाल सरकारको सचिव पदमा कार्यरत छन् ।

सचिव बनेपछि उनले अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्रम मन्त्रालय, उप–राष्ट्रपतिको कार्यालयमा काम गरिसकेका छन् ।

आन्तरिक राजस्व विभाग र भन्सार विभागमा महानिर्देशकलगायत विभिन्न पदमा रही उनले कार्य सम्पादन गरेका छन् । प्रशासकका रुपमा उनले क्रमशः रुपन्देही, भक्तपुर र मोरङ जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा सफल प्रशासक भई कार्य गरिसकेका छन् ।

हाल उनी राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारीको रुपमा कार्यरत थिए । राजपत्रांकित विशिष्ट श्रेणीको सचिवका हैसियतमा उनले वागमती प्रदेशको प्रदेश प्रमुख सचिव भई कार्य सम्पादन गरिसकेका छन् । सह–सचिव पदमा उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र अर्थ मन्त्रालयको अनुभव हासिल छन् ।

यसबाहेक कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा लोक सेवा आयोग, केन्द्रीय कार्यालयमा आर्थिक प्रशासन प्रमुखको रुपमा समेत कार्यानुभव रहेको छ ।

शाखा अधिकृत रहँदा उनले जिल्ला प्रशासन कार्यालय कालिकोट, ताप्लेजुङ, तेह्रथुम र मोरङ जिल्लामा रहेर सेवा गरेका छन् । त्यस्तै गृह मन्त्रालय अन्तर्गतको विशेष प्रहरी विभाग र राष्ट्रिय सतर्कता केन्द्रमा पनि उनले काम गरिसकेका छन् ।
तोयम राया मोरङ जिल्लाको सुन्दरहरैचा–०९, विराटचोक घर भई हाल काठमाडौं –३२, पेप्सीकोलामा बस्दै आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स