करीब ४ करोड ३० लाख लागतको बज्रयान विहार निर्माणा सम्पन्न, राष्ट्रपतिबाट उदघाटन

लुम्बिनी । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा काठमाडौं महानगरले बनाएको मौलिक नेपाली बज्रयान विहार निर्माण सम्पन्न भएको छ । नवनिर्मित विहार आज राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरिन् ।

उदघाटनपछि बोल्दै राष्ट्रपति भण्डारीले नेपालमा जन्मिएका गौतम बुद्धको आदर्श र प्रेरणा सबै नेपालीका लागि गर्वको विषय रहेको उल्लेख गरिन् । ‘गौतम बुद्धले लामो तपस्याबाट प्राप्त गरेको ज्ञानबाट विश्वमा शान्तिको सन्देश फैलिएको छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘हामीले पनि बुद्ध दर्शनको मर्म र भावनाअनुसार चल्न सक्नुपर्छ । यसले देशको चिनारीलाई गरिमामय बनाउँछ ।’

लुम्बिनीको विकासका लागि निर्माण भएको गुरुयोजना कार्यान्वयनमा नआएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपालको विकासका लागि पैसाको कमी नभएको बताइन् । विकासका वाधाका रुपमा आन्तरिक कारण देखिन्छन । ती कारणका बारे आन्तरिक रुपमै समीक्षा गर्नुपर्छ । उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकासहितको आर्थिक सहयोगमा विहार बन्दा खुशी लागेको बताए । ‘काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा आउँदा मौलिक रुपमा निर्माण थालिएको तर आर्थिक अभावमा काम रोकिएको विहार देख्यौं । त्यो अपूरो काम गर्न हामीले आर्थिक सहयोग गर्यौं । शाक्यले भने, ‘अन्य विहार बनाउन विभिन्न देशले सहयोग गरेको हामीले देख्यौं । तर, नेपाली विहारमा नेपाल सरकारको कुनै सहयोग नभएको र यसले पूर्णता प्राप्त गर्न नसकेको अवस्थामा काठमाडौँ महानगरपालिकाले सहयोग गरेको हो ।‘

हामीलेजस्तै संघ र प्रदेश सरकारले पनि नेपालका मौलिकता प्रवर्धन हुने सांस्कृतिक भौतिक संरचनाको निर्माण र पुननिर्माणमा लगानी बढाउँदै जानेछ भन्ने मेरो अपेक्षा हो । शााक्यको भनाइ थियो ।

परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डा. नरेशमान बज्राचार्यले नेपालमा विहार बनाउनु कुरा हरेक नेपालीको कर्तव्य भएको उल्लेख गर्दै कर्तव्य पालना विर्सिएको हो कि जस्तो भएको बताए । काठमाडौं महानगरपालिकाले आफूले बोलेको कुरा पूरा गरेपछि विहारले पूर्णता पाएको बज्राचार्यको भनाइ थियो ।

लुम्बिनी विकास कोषको गुरुयोजनामा, नेपालको सम्पदा विम्बित गराउने उद्देश्यले बज्रयान विहार निर्माण गरिएको हो । यसको निर्माणका लागि विदेशीबाट कुनै पनि प्रकारको सहयोग लिएका छैनौं । काठमाडौँ महानगरपालिकाले ४ करोड २९ लाख १८ हजार रुपैयाँ दिएको छ । विहारको भौतिक विकासका केही काम बाँकी छन् । रकम सकिएको छ । यसबेला महानगरले थप सहयोग गर्नेमा हाम्रो विश्वाश छ । बज्राचार्यले अपेक्षा राखे ।

बज्राचार्यकाअनुसार नेपाली बौद्धकला, बास्तुकलाले भरिएको विहार बन्न छाडेको ३ सय ७२ वर्ष भयो । यो विहार ३ सय ७२ बर्ष अघिको बौद्धकलासहितको विहार निर्माणको निरन्तरता हो ।

नेपाल परम्परागत बौद्धधर्म संघका उपाध्यक्ष माणिकरत्न शाक्यकाअनुसार विहार निर्माण गर्न अहिलेसम्ममा करीब १६ करोड रुपैयाँ खर्च भएको छ । यसलाई योजनाअनुसार पूर्ण गर्न थप ४ करोड लगानी चाहिन्छ ।

कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, वागमती प्रदेशका पूर्वमन्त्री डा. अजयक्रान्ति शाक्य, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतसहित काठमाडौँ लुम्बिनी नगरका जनप्रतिनिधि तथा धार्मिक अगुवाहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स