जलविद्युत उद्योगमा समस्या जन्माउने उद्देश्य नभएको ऊर्जामन्त्री बस्नेतको भनाइ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत् उद्योगमा समस्या जन्माउने उद्देश्य सरकारको नभएको स्पष्ट पारेका छन् ।

सोमबार इप्पानले आयोजना गरेको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया र दीर्घकालीन महत्व विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले केही गरेन भनेर बाहिर बहस र छलफल गर्ने भन्दा पनि एकआपसमा समन्वय गरी समाधानको बाटोमा जानु आजको आवश्यकता भएको बताए ।

जलविद्युतको विकासका लागि समस्या बल्झाउने र जन्माउने मात्रै नभएर समस्या बाँकी राख्ने उद्देश्य सरकारको नभएको उनको भनाइ थियो ।

जलविद्युत् क्षेत्रमा देखिएका नीतिगत, वन तथा वातावरण क्षेत्रमा देखिएका समस्या समेत समाधान गरेर लैजाने सरकारको योजना रहेको उनले बताए ।

उनले सरकार र निजी क्षेत्रबीद्ब आरोप प्रत्यारोप गर्नुभन्दा पनि आपसी समन्वय गरेर जाँदा मात्रै जलविद्युतको विकास हुने बताए ।

निजी क्षेत्र र राज्य निजी साझेदारीको बाटोमा जाँदा मात्रै मुलुकले समृद्धि हासिल गर्ने उनको दाबी थियो । उनले मुलुकमा जलविद्युतको क्षेत्रबाट हेर्दा धेरै आशावादी हुने ठाउँ रहेको बताए ।

उनले पछिल्लो ८ वर्षमा २५ सय मेगावटा विद्युत् उत्पादन भएको र अबको १२ वर्षमा २८ हजार विद्युत् उत्पादन गर्ने गतिमा सरकार अघि बढेकाले निजी क्षेत्र निराश हुनुपर्ने अवस्था नभएको दाबी गरे । निजी क्षेत्र सरकारसँग आशावादी भएर समन्वय र सहकार्यमा अघि बढ्न उनले आग्रह गरे ।

ऊर्जा मन्त्री बस्नेतले जलविद्युतको विकासका लागि सबैले सन्तुलित ढङ्गले सोच्नुपर्ने आवश्यकता रहेको बताए । उनले विकास गर्नेले वातावरणको विषय र वातावरणको संरक्षण गर्नेले विकासको महत्व बुझ्न जरुरी रहेको बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स