काठमाडौं । अर्थ सचिव कृष्णहरि पुष्कर काममा अक्षम देखिएका छन् । अमेरिकाबाट नेपाल फर्के लगत्तै नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउने जिम्मा पाएका अर्थ सचिव कृष्णहरि पुष्करले अहिलेसम्म कुनै प्रक्रिया अघि बढाउन सकेका छैनन् ।
धितोपत्र बोर्ड अध्यक्षका माग गरिएको आवेदनको समय सकिएको १८ दिन बित्दा समेत अर्थ सचिवले कुनै कार्य अघि बढाउन नसकेका हुन् । अर्थ सचिव पुष्करलाई प्रधानमन्त्रीले अप्रत्यक्ष जिम्मेवारी नै दिए पछि अर्थमन्त्री वर्षमान पुनले मंगलबार अर्थ सचिवलाई छनोटको प्रक्रिया छिट्टै अघि बढाउन निर्देशन समेत दिएका हुन् ।
अर्थमन्त्री पुनले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पुष्करलाई बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । बैठकमा मन्त्रीको आदेशपछि आजै सर्ट लिष्टिङको कार्य सम्पन्न गर्ने जस्तो देखिएका पुष्करले मन्त्रीले निर्देशन दिएको एक साता बित्दा पनि सर्ट लिष्टिङको कार्य समेत गर्न सकेका छैनन् ।
प्रधानमन्त्रीसँग पहुँच राखेर बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया आफूले अगाडी बनाउने तालमेल मिलाएका अर्थ सचिव पुष्करले किन यो कार्य गर्न सकेनन्, अहिले चौतर्फी चासोको विषय बनेको छ ।
नेपाल धितोपत्र बोर्डको लागि १९ जनाले आवेदन दिएका छन् । सार्वजनिक संस्थानहरूको कार्यकारी नियुक्तिमा चलखेल गर्दै आएका माफियाहरूको ग्याङका मुख्य योजनाकारले श्रेष्ठलाई सेबोन अध्यक्ष बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिधै आग्रह गरेपछि प्रमले पनि अध्यक्ष नियुक्ति प्रक्रियामा लाग्न अर्थ सचिवलाई नै जिम्मा दिएका छन् ।
उनले गर्ने सर्ट लिष्टिङको पहिलो नम्बरमा पर्ने पात्र श्रेष्ठ हुन् । क्षमता र अनुभवले भन्दा पनि शक्ति केन्द्र रिझाएकै भरमा अर्थ सचिव बनेका पुष्कर अर्थ मन्त्रालय मातहतको सेबोनामा आफ्ना प्यानलका श्रेष्ठलाई अध्यक्ष बनाएर स्वार्थ समूहलाई लाभ दिने तयारीमा छन् ।
आफू अर्थ सचिवमा टिकिरहन अमेरिका भ्रमणकै बेला शक्ति केन्द्रसँग साँठगाँठ गरेर कम्तीमा पनि बजेट सार्वजनिक नहुन्जेलसम्म अर्थमै बस्ने चाँजोपाजो मिलाएर नेपाल फर्केका पुष्करलाई नेपाल फर्किने बित्तिकै प्रधानमन्त्री प्रचण्डले सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।
अर्थ सचिव कृष्णहरि पुष्करले बोर्ड अध्यक्ष सिफारिस समितिसँग मिलेर आएका आवेदनबाट‘सर्ट लिस्टिङ’ गरेर अन्तरवार्ता लिनेछन् । त्यसपछि तीन जनाको नाम मन्त्रीपरिषद्मा पुर्याउने प्रक्रिया सुरु हुनेछ । बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक भने योजना आयोजका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ रहेका छन् । सदस्यमा अर्थ सचिव पुष्करसँगै प्राध्यापक उदय निरौला रहेका छन् ।
समितिले सिफारिस गरेको तीन जनाको नामावली अर्थमन्त्रीले मन्त्रीपरिषदमा पेश गर्ने र मन्त्रीपरिषद्को बैठकले १ जनालाई नियुक्त गर्नेछ । अर्थमन्त्री आफैले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा चासो देखाएर लागेका भए आवेदकमध्यका बलिया दावेदार नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाईँ र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर कार्कीको सम्भावना बढी थियो ।