काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूले मोटर बीमामा ८ अर्ब १७ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । चालु आर्थिक वर्षको (साउनदेखि फागुन) अन्त्यसम्म निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूले ११ लाख ३६ हजार ४७३ पोलिसी जारी गरेर उक्त व्यापार गरेको हो । बीमा कम्पनीहरूले फागुन अन्त्यसम्म आर्जन गरेको कुल बीमा शुल्क मध्ये मोटर बीमामा कम्पनीहरूको व्यवसाय ३१.१३ प्रतिशतले बीमा शुल्क रहेकोे सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
निर्जीवन बीमा कम्पनीहरूले सातै प्रदेशबाट सम्पत्ति बीमा, सामूद्रिक बीमा, हवाई, मोटर, इन्जि.तथा ठे.जो., विविध, कृषि तथा बाली र लघुमा २६ अर्ब २६ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । चालु आर्थिक वर्षको आठ महिनामा निर्जीवन बीमा व्यवसाय गर्ने बिमकहरूले १९ लाख ६२ हजार २४ पोलिसी जारी गरेर सो व्यापार गरेका हुन् ।
फागुन अन्त्यसम्म बीमा व्यवसाय गर्ने कम्पनीहरूले सबैभन्दा बढि मोटरमा गरेका छन् । समीक्षा अवधिमा अन्य क्षेत्रको तुलनमा कम्पनीहरूले लघु बीमामा कम बिजनेस गरेको बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
निर्जीवन बीमा कम्पनीहरूले ११ लाख ३६ हजार ४७३ पोलिसी जारी गरेर ८ अर्ब १७ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । त्यसैगरी समीक्षा अवधिमा दोस्रो नम्बरमा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले सम्पत्ति बीमामा ३ लाख ३५ हजार ३११ पोलिसी जारी गरेर ६ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।
त्यसैगरी यस अवधिमा बढि बीमा संकलन इन्जि. तथा ठे.जो. बीमाम ४ अर्ब २ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन भएको छ । कम्पनीहरूले १७ हजार १६ पोलिसी जारी गरेर उक्त व्यापार गरेका हुन् । निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूले विविध बीमामा १ लाख ५ हजार ८७९ पोलिसी जारी गरेर दुई अर्ब ९८ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
समीक्षा अवधिमा बीमा कम्पनीहरूको व्यवसाय सामूद्रिक हवाई र कृषि तथा बाली बीमामा प्रतिस्पर्धा भएको देखिन्छ । कम्पनीहरूले सामुद्रिक बीमामा दुई लाख ३३६ पोलिसी जारी गरेर एक अर्ब ३२ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् भने सोहि अवधिमा कृषि तथा बाली बीमा व्यवसायबाट १ अर्ब ४७ करोड ३३ लाख रुपैयाँ र हवाई बीमा ८८ पोलिसी जारी गरेर १ अर्ब ७३ करोड ५ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।
अन्य बीमा क्षेत्रको तुलनामा बीमा कम्पनीहरूले लघु बीमामा कम व्यवसाय गरेका छन् । कम्पनीहरूले आर्थिक वर्षको चौमास फागुन अन्त्यसम्म लघु बीमामा ५८ हजार ८९८ पोलिसी जारी गरेर ११ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।