कृषि विकास बैंकको नाफामा सामान्य सुधार, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.१८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ भने ईपीएस अर्थात प्रतिसेयर आम्दानी घटेको छ । खुद ब्याज आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज बढ्दा बैंकको खुद नाफा प्रभावित भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.३० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.१२ प्रतिशत बढेको छ ।

बैंकको नेट फि तथा कमिशन आम्दानी समीक्षा अवधिमा १६.१२ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकको जगेडा कोष १.७३ प्रतिशत बढेको छ । बैंकको निक्षेप ५.८१ प्रतिशत घटेको छ भने कर्जा ७.९८ प्रतिशत बढेको छ ।

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९० पैसाबाट १ रुपैयाँ २० पैसा घटेर १४ रुपैयाँ ७० पैसामा झरेको छ । असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात ३४.५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ २० पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स