काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई आज (चैत १५ गते) देखि शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड अनुसार आज बिहान ८ बजेदेखि ११ बजेसम्म एसईई परीक्षा सञ्चालन हुनेछ । आजदेखि २७ चैतसम्म सञ्चालन हुने परीक्षामा पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
नियमित तथा ग्रेडवृद्धितर्फ आज दिन अनिवार्य अंग्रेजीको परीक्षा रहेको छ । त्यस्तै, भोलि अनिवार्य नेपालीको परीक्षा रहेको छ । आइतबार १६ गते अनिवार्य गणित विषयको परीक्षा रहेको छ ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुनेछन्।