काठमाडौं । नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)ले सौहार्दपूर्ण पुष्पको होली उत्सव आयोजना गरेको छ । संसारभरी रासायनिक विषादयुक्त रंग प्रयोग गरि होली मनाउदैं गर्दा इस्कोनले चैत्र १२ पुष्पको होली उत्सव आयोजना गरेको हो ।
वैदिक संस्कारले भरिपूर्ण इस्कोन नेपालमा राधाकृष्णको सुन्दर मन्दिर रहेको छ जहाँ ४० भन्दा बढी गाईको सेवा गरिन्छ र मिठो खीर प्रसाद दर्शनार्थीलाई निःशुल्क वितरण गरिन्छ । भगवान् श्री कृष्ण स्वयम् श्री चैतन्य महाप्रभुको रुपमा करिब ५३५ वर्ष अघि पश्चिम बंगालको नवदीप, मायापुरमा प्रकट भएको हो, उनकै प्राकट्य तिथिमा भगवान्लाई पुष्पको होली र भगवानको विशेष अभिषेकका साथ होली मनाइएको छ । संसारभरी चिर परिचित रुपेश्वर प्रभुजीको विशेष प्रबचन र किर्तनले पनि यसकोे विशेष शोभा बढाएको हो ।
हजारौं भक्तजनहरुको साथ बिहान ४ः३० बजे देखि विविध कार्यक्रमका साथै हरे कृष्ण महामंत्र को नगर किर्तन बुढानिलकण्ठ स्थित भगवान् नारायण को परिक्रमा गरि उत्सव आयोजना गरिएको थियो । कुनै वर्गीय र जातीय विभेद बिना सम्पूर्ण जीवात्माको हितको लागि इस्कोनद्वारा विभिन्न सेवा गरिदै आएको छ ।
जीवनका लागि भोजन नेपाल, भक्तिवेदांत हस्पिटल, भक्तिवेदांत गुरुकुल, भक्तिवेदांत पाठशाला लगायत विभिन्न प्रोजेक्टहरुद्वारा सेवा प्रदान गरिएको छ । हजारौं भक्तजनहरु सहित विभिन्न सांस्कृतिक कार्यक्रम र भजनसंगै सन्ध्याको समयमा विशेष पुष्प होली खेलिएको हो ।
हरेक शनिबार विविध कार्यक्रमका माझ हजारौं भक्तजनलाई भोजन को ब्यवस्था हुने गर्दछ र फाल्गुण गौर पुर्णिमाको तिथिमा भगवान् को अविर्भाव को तिथिमा सन्ध्या चन्द्रोदयको समय सम्म ब्रत बस्ने गरिन्छ । भगवान्लाई अर्पित प्रसादमा सम्पूर्ण उपस्थित भक्तजनलाई वितरण हुन्छ इस्कोन नेपालका बिभिन्न जिल्लामा अवस्थित ५५ बढी केन्द्रहरुमा पनि फूलको होली खेलिएको छ ।
आध्यात्मिक ज्ञान र भक्तिको खोजीमा हुनुहुन्छ भने हजुरहरुलाई उत्तम स्थान इस्कोनका विभिन्न केन्द्रहरुमा गई मेडिटेसन (ध्यान ), हरे कृष्ण महामंत्रको जप, सुन्दर भगवानका विग्रहको आरती, दर्शन र प्राथना गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) आध्यात्मीक संस्थाको रुपमा भक्तिवेद्धान्त स्वामी प्रभुपादले सन् १९६६ मा अमेरिकामा स्थापना गरेको अन्तर्राष्ट्रिय संस्था हो । यस संस्थाको मुख्य उद्धेश्य भनेको मानिसले भौतिक जगतको सामिप्यताले बिर्सेको श्रीकृष्णसँगको वास्तविक सम्बन्धको चेतना महशुस गराउनु हो । संसारभरिका १२०० ठूला तथा हजारौंको संख्यामा साना सेन्टरहरु मार्फत लाखौ भक्तहरु इस्कोनमा आवद्ध भई आफ्नो आध्यात्मीक चेतनाको विकास गरी कृष्णभावनाको प्रचार गरिरहेका छन् ।