काठमाडौं । विगत लामो समयदेखि सम्पर्कविहीन भएका २३ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आज एक सूचना प्रकाशित गरी सम्पर्क विहिनलाई सम्पर्कमा आउन भनेको हो । प्रहरी सहायक निरीक्षक चार जना, प्रहरी हबल्दार १, प्रहरी जवान १७ र २ जना प्रहरी कार्यालय सहयोगी सहित २३ प्रहरी विगत एक महिनाभन्दा बढी समयदेखि सम्पर्कमा छैनन्। उनीहरूमध्ये कोहि पुसदेखि नै सम्पर्कमा आएका छैनन् भने कोहि माघ देखि सम्पर्क विहिन छन् ।
यसबीचमा खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गरेर जनाएको छ । आज जारी सूचनामा उनीहरूलाई सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन भनेको छ । अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी कार्यालयले गराएको छ ।