सरकारले आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन गर्ने भएको छ । तेस्रो लगानी सम्मेलन निर्देशक समितिका संयोजक अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनको तयारीमा तिव्रगतिले लाग्न निर्देशन दिइसकेका छन् । यसैबीच तेस्रो लगानी सम्मेलनका लागि सरकार र निजी क्षेत्रले गर्नु पर्ने तयारीका विषयसँग सम्बन्धित भएर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् प्राडा.गोविन्दराज पोखरेलसँग हाम्रोअर्थले गरेको कुराकानीको सारः
वैशाखमा हुने लगानी सम्मेलनमा हामीले गर्नु पर्ने के—के हो ?
हामीले यसअघिका लगानी सम्मेलनमा विभिन्न देशबाट लगानीकर्ताहरू सहभागी भएको देखेका छौं । लगानीकर्ताहरूले गरेको प्रतिवद्धताअनुसार लगानी आएको देखिदैन । वैदेशिक लगानी (एफडीआई) किन आउँदैन भन्दा हाम्रा नीति, नियम, कानुन लगानीका बाधक छन् । उनीहरूको बुझाइमा नेपालमा लगानी गर्ने प्रक्रिया झण्झटिलो छ भने राजनीतिक माहोल नै छैन ।
त्यसकारण पनि लगानीकर्ताहरूले कतिको जोखिम मोलेर लगानी गर्छन भन्ने हो । नीतिगत अवस्था कस्तो छ, अस्थिर छ कि स्थिर ? लगानी गर्दा कस्ता कस्ता प्रक्रियाहरू छन्, अर्बौ रुपैयाँ लगानी गरेर कमाएको पैसा लैजान कतिको सहज छ । जनशक्तिको अवस्था कस्तो छ ? लगानी गर्ने राम्रो वातावरण छ कि छैन, कानुनी व्यवस्था कस्ता छन् ?
त्यो सबै बुझेरमात्रै लगानीकर्ताले लगानी गर्ने हुन् । पछि कार्यान्वयनमा जाँदा उत्पन्न हुने समस्याले गर्दा लगानीकर्ताहरूले गर्छु भनेको लगानी अन्तिममा गर्न सक्दैनन् । किनभने कतिपय लगानीकर्ताहरूले लगानी गरेको लामो समयसम्म पनि लगानी उठाउन मुस्किल भएको घटनाहरू छन् ।
त्यसो भए लगानी भित्र्याउनका लागि सरकारले ऐन कानुनमा गर्नुुपर्ने संशोधनहरू के–के हुन त ?
नेपालमा लगानी गर्नको लागि सबैभन्दा ठूलो समस्या जग्गा प्राप्तीमा छ । नेपालमा जग्गा अधिकरणको त्यतिमा ठूलो समस्या छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) जस्ता रिपोर्ट समयमा नआउनाले पनि लगानी भित्र्याउन गाह्रो भइरहेको अवस्था छ । कानुनका झण्झटिलो पाटा छन्, यी सबै सल्टाउँदा २/३ वर्ष लाग्छ ।
लगानी गर्न आएका लगानीकर्ताहरू दुई वर्ष कुरेर बस्दैनन्, त्यो बेलासम्म लगानीकर्ताहरू घाटा बेहोरेर बस्न सक्दैनन् । फितलो कार्यान्वयन कर्मचारीतन्त्रलाई पैसा खुवाउनु पर्ने बाध्यता, चन्दा आतंकजस्ता कारणले लगानीकर्ताहरू घाटामा जान्छन् ।
त्यसकारण हामीले लगानी सम्मेलन गर्नु भन्दा पहिले सुशासन कायम गर्नुपर्यो । लगानीकर्ताहरूले कुनै पनि बेला कसैलाई पनि पैसा खुवाएर काम गर्न नपरोस । लगानीका लागि फास्ट ट्याकमा हुनुपर्ने र एकद्वार प्रणाली गर्न जस्ले पाउँदैन त्यसको सुविधा उपल्बध गराउनु पर्यो ।
हामीलाई चाहिने जनशक्ति हामीले कुन क्षेत्रमा लगानी गर्ने हो त्यो क्षेत्रमा लगानी गर्न चाहिने जनशक्ति छ कि छैन् ? त्यसको पनि हामीले अनुमान गर्नुपर्ने हुन्छ । आवश्यक पूर्वधार जस्तै पहुँच माग चाहिन्छ, सुशासन कायम गर्ने चाहियो । विभिन्न आयोजनाहरू निमार्ण सुरु गर्दा आवश्यक पर्ने पावर जस्तै विद्युतको सप्लाई लगायतका कुराहरूमा हामीले सहजीकरण गर्न सकियो भनी मात्र लगानी गर्न सकिन्छ । होइन, नेपाल आउँछु यती उती पैसा ल्याउछु भनेर मात्र हुदैन । कमिमेन्ट गरेपनि त्यसलाई कार्यान्वयनमा लान सकिदैन ।
निजी क्षेत्रको भुमिका कस्तो रहन्छ ? लगानी सम्मेलनको लागि के –के गर्नुपर्छ ?
निजी क्षेत्रले नै नेपालमा उद्यम गर्न सकिन्छ, उद्यम गर्ने माहोल छ भन्ने सन्देश उनीहरूलाई दिने हो । निजी क्षेत्र कन्भिन्स भयो भने उनीहरूले नै नेपालमा लगानीमैत्री वातावरण छ भनेर सन्देश दिन्छन् ।
हाम्रा लगानीको आवश्यक पर्ने क्षेत्रहरू कुन–कुन हुन ?
वास्तवमा पर्यटन क्षेत्रमा वैदेशिक लगानी आयो भने त्यो वैदेशिक लगानी कर्ताहरूले पर्यटकहरू पनि लिएर आउँछन । नेपालमा विभिन्न जडिबुटी लगायतका निर्यात वस्तुहरू छन् । त्यस क्षेत्रमा वैदेशिक लगानी ल्याउन सकियो भने बजार उनीहरूले व्यवस्थापन गर्छन् । हामीले निर्यात गर्ने वस्तुहरूमा वैदेशिक लगानी गर्न सकियो भने बजार पनि उनीहरूले नै लिएर आउँछ । जलविद्युतमा अहिले निर्यात बंगलादेश, भारत भनिएको छ, यी नै विद्युतीय क्षेत्रमा लगानी गर्न सकियो भने हामीलाई विद्युत निर्यात गर्न सजिलो हुन्छ ।
दुई वटा लगानी सम्मेलन भयो यसमा आउटपुट निकाल्न नसक्नुको मुख्य कारणहरू के हुन् ?
लगानीको माहोल सुधार्न सकिएन कानुन, नीति नियममा व्यवस्था भएपनि कार्यान्वयनमा जाँदाखेरि लगानीकर्ताले नेपालमा लगानी गर्ने कि कोरियामा लगानी गर्ने, कम्बोडियामा लगानी गर्ने । लगानीकर्ताहरूले प्रतिफल उच्च भएको देशमा लगानी गर्ने हुन् । जोखिम र लगानी गर्न झन्झट भएका देशमा लगानीकर्ताले लगानी गर्न चाहदैनन् ।