काठमाडौं । गत आर्थिक वर्षमा २८.६६ प्रतिशतले आयात बढेर १५ खर्ब ३९ अर्ब पुगेको छ । गत आवमा भएको आयातको वृद्धिदर पनि पछिल्लो १० वर्षकै उच्च हो । आव २०६८/६९ मा आयात वृद्धिदर २९.८ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षमा ११ खर्ब ९६ अर्बको वस्तुको आयात भएको थियो ।
आयात बढेसँगै वैदेशिक व्यापार घाटा २७.२६ प्रतिशतले बढेर १३ खर्ब ३९ अर्ब ८३ करोड पुगेको छ भने वैदेशिक व्यापार २९.८५ प्रतिशतले बढेर १६ खर्ब ८० अर्ब पुगेको छ । कुल वैदेशिक व्यापार (आयात र निर्यातको योग) मा निर्यातको अंश भुकम्पपछिकै सबैभन्दा बढी भएको छ ।
आयात बढेसँगै नेपाल इतिहासमा पहिलो पटक खर्बको निर्यात भएको छ । सरकारले १० वर्ष अघि नै खर्बको निर्यात गर्ने भनेपनि यो वर्षमात्रै सम्भव भएको हो । सरकारले निर्यातलाई बढ्वा दिनको लागि विभिन्न वस्तुमा निर्यातमा सुविधा र सहुलियत दिनुको साथै इन्सेन्टिभ समेत दिएको छ ।
सरकारले २०६४ सालमा त्रिवर्षीय अन्तरिम योजना तयार पार्दा नै आर्थिक वर्ष २०६७÷६८ मा १ खर्ब बराबरको वस्तु निर्यातको लक्ष्य राखेको थियो । सो लक्ष्य १ दशकपछि अर्थात् आव २०७७÷७८ मा पुरा भएको छ ।
गत आर्थिक वर्ष अर्थात् आव २०७७÷७८ मा नेपालबाट १ खर्ब ४१ अर्ब १२ करोडको वस्तु निकासा भएको हो । जुन अघिल्लो आव अर्थात् आव २०७६÷७७ को भन्दा ४४.४३ प्रतिशत बढी हो । अघिल्लो आवमा ९७ खर्ब ७० अर्बको निर्यात भएको थियो ।
कोरोना भाइरसका कारण स्थानीय उद्योग व्यवसाय आक्रान्तमा पर्दा व्यापारको तथ्यांकले नीति निर्माता राहत महसुस गराएको छ । गत आवभर कोरोनाको डरले व्यवसाय फस्टाउन नसकेको भएपनि वैदेशिक व्यापारको तथ्यांक उत्साहपूर्ण छ । अघिल्लो आवमा अधिकांश गतिविधि शून्य हुँदा आयात वृद्धिदर ऋणात्मक बनेको थियो । यस्तै निर्यात वृद्धिदर रोकिएको थियो ।
कुन कुन वस्तुले सहयोग गरे निर्यात बढाउन ?
भटमासको तेल, कार्पेट, अलैंची र चियाको निर्यातमा उल्लेखनीय सुधार आउँदा विषम परिस्थितमाझ नेपालको निर्यात दर बढेको देखिन्छ । भन्सार विभागका अनुसार भटमासको प्रशोधित तेलको निर्यात ४ गुणाले बढेको छ । २०७७ असार मसान्तसम्म १२ अर्ब ६९ करोडको भटमासको तल निर्यात भएकामा २०७८ को असार मसान्तसम्म ५३ अर्ब ६५ करोडको निर्यात भएको छ ।
यस्तै कार्पेटको निर्यात सामान्य बढेर ७ अर्ब २४ करोड पुगेको छ । अलैंचीको निर्यात भने आकासिएको छ । २०७७ असार असान्तसम्म २ अर्ब ५३ करोडको अलैंची निर्यात भएकामा २०७८ असारसम्म ७ अर्ब १ करोड रूपैयाँको निर्यात भएको छ । वार्षिक २५ देखि ३० लाख किलो अलैंची निर्यात हुने गरेकामा ८८ लाख ८२ हजार किलो पुगेको छ ।
धुलो अलैंची निर्यात घट्दा कच्चा अलैंची निर्यात भने बढेको छ । धुल्याइएर प्रशोधन गरेको अलैंची कच्चा अलैंची भन्दा महंगो पर्छ । यस्तै चिया निर्यात पनि बढेको छ । चिया निर्यात हालसम्मकै बढी भएको हो । भारतमा चिया उत्पादन घटेपनि नेपाली चियाको माग बढेको छ ।