उपत्यकामा चोरिएका २३ मोटरसाइकल फेला, पछिल्लो समय स्कुटर चोरी बढ्दो

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट चोरिएका २३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले चलाएको विशेष अभियानका क्रममा विभिन्न क्षेत्रबाट हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरिएको महाशाखाले जनाएको छ ।

सवारी धनीले महाशाखामा दिएको निवेदनका आधारमा प्रहरीले खोजी अभियान चलाउँदै आएको छ । सो अभियानमा चोरीमा संलग्न व्यक्तिलाई समेत पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । उनले मोटरसाइकल हराउन नदिन सबैको सहयोग र हातेमालोको खाँचो रहेको र विशेषगरी सवारी धनी थप सजक र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकल बरामद गरिने र चोरीमा संलग्न मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी वृत्तहरूमा पठाउने गरेको महाशाखाले जनाएको छ ।

पछिल्लो समय स्कुटर चोरीका निवेदन बढ्न थालेको महाशाखाको तथ्याङ्कले प्रष्ट्याउँछ । विशेषगरी स्कुटर चालकले सवारी दर्ता किताब (विलबुक) डिक्की मै राख्ने गरेको र चाविसहित छाड्ने गरेकाले पनि चोरीका घटना बढेको पाइएको छ । त्यसैले प्रहरीले जथाभावी पार्किङ्ग नगर्न, एकान्त स्थान र लामो समयसम्म पार्किङ्ग नगर्न र थप अतिरिक्त सुरक्षाका उपाय प्रयोग गर्न अनुरोध गरेको छ ।

महाशाखाका अनुसार चालु आर्थिक वर्षमा हराएका ३८७ मोटरसाइकल मध्ये १७१ मोटरसाइकल नियन्त्रणमा लिइएकामा १६८ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । चोरीमा संलग्न १९ जनालाई कारवाहीका लागि मोटरसाइकलसहित सम्बन्धित प्रहरी वृत्तमा पठाइएको महशाखाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स