मुलुकको आर्थिक विकासका लागि सहयोग गर्नसक्ने महत्वपूर्ण क्षेत्रका रुपमा बैंकिङ क्षेत्र स्थापित भइसकेको छ : अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले मुलुकको आर्थिक विकासका लागि सहयोग गर्नसक्ने महत्वपूर्ण क्षेत्रका रुपमा बैंकिङ क्षेत्र स्थापित भइसकेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकले आज यहाँ आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा उनले सो कुरा बताएका हुन् ।

मुलुकको आर्थिक विकासका लागि सहयोग गर्नसक्ने महत्वपूर्ण क्षेत्रका रुपमा बैंकिङ क्षेत्र स्थापित भइसकेको उनले दाबी गरे । बैंकिङ क्षेत्रबाट भएको लगानीले भोलिका दिनमा ठूलो परिवर्तनको सम्भावना देखिएको उल्लेख गर्दै उनले जलविद्युत् लगायत पूर्वाधार क्षेत्रमा भएको लगानीले आगामी दिनमा मुलुकको अर्थतन्त्रमा नै महत्वपूर्ण भूमिका खेल्ने बताए । अबको लगानी आर्थिक विकासलाई केन्द्रीत हुनेगरी गर्नुपर्ने केसीको भनाई छ । पर्यटन, सेवालगायतका क्षेत्रलाई पनि लगानीको केन्द्रमा राखेर कर्जा विस्तार गरिनुपर्ने उनले बताए । त्यस्तै, नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानीका लागि उनले बैंकिङ क्षेत्रलाई आग्रह गरे । विदेशबाट नेपालमा लगानी भित्र्याउनका लागि नेपालका बैंकसँग सहकार्य गर्नसक्ने पर्याप्त अवसर र सम्भावना रहेको उनले बताए ।

पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रका बारेमा विभिन्न खालका चुनौतीको सामना गर्नु परेको बताए । अहिले नेपालको बैंकिङ क्षेत्र निकै राम्रो अवस्थामा रहेको दावी उनले गरे । ‘बैंकिङ क्षेत्रका सबै सूचक सहज रुपमा रहेका छौं । तरलताका हिसाबले सहज अवस्था छ । पुँजीका हिसाबले पनि सक्षम अवस्थामा रहेका छौं’, उनले भने, ‘विभिन्न सूचकहरुलाई हेर्ने हो भने अहिले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै राम्रो छ । मौद्रिक सूचक सकारात्मक छन् । विदेशी मुद्रा सञ्चिति पर्याप्त छ । भुक्तानी सन्तुलन कायम भएको छ । राजस्व बढ्दो क्रममा छ ।’ बैंकिङ क्षेत्रमा करिब ६१ खर्ब बराबरको निक्षेप संकलन र ५१ अर्ब बराबरको कर्जा प्रवाह भएको बताए ।

बैंकिङ क्षेत्र सुधारका लागि सरकारसँग पनि केहि अपेक्षा रहेको उनले बताए । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतीको चरणमा रहेकोमा पूर्वाधार विकासका लागि पर्याप्त लगानी आवश्यक पर्ने अध्यक्ष केसीले बताए । त्यस्तै, आगाी वैशाखमा आयोजना हुन लागेको लगानी सम्मेलनमार्फत् पनि विभिन्न क्षेत्रमा लगानीका क्षेत्र पहिचान हुनेमा बैंकिङ क्षेत्र आशावादी रहेको बताए ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सम्मेलनबाट वर्तमान अवस्थामा मुलुकको अर्थतन्त्र र बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्याबारे छलफल गर्ने र विज्ञहरुबाट सुझाव लिने अपेक्षा गरेको बताए । बैंकले प्रादेशिक रुपमा यस्ता कन्फ्रेन्स आयोजना गर्दै आएको भएपनि राष्ट्रिय रुपमा पहिलोपटक आयोजना गरिएको सीईओ श्रेष्ठले बताए ।

सम्मेलनमा वाणिज्य बैंकका देशभरका सबै शाखा कार्यालयका प्रमुख, प्रादेशिक शाखा प्रमुख, केन्द्रीय कार्यालयका उच्च व्यवस्थापन सहभागी छन् । हाल राष्ट्रिय अर्थतन्त्रमा देखिएका समस्या तथा चुनौतीबारे अर्थविद्, बैकिङविज्ञ र उद्यमीबीच छलफल गरी बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधानका लागि छलफल गर्ने र आगामी दिनमा दिगो बैंकिङ विकासका लागि दिशा निर्देश गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स