सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ९ लाख ३ हजार ४३८ आवेदकको हात खाली

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले कम्पनीको आईपीओ आज शुक्रबार बिहान बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ताका आवेदन दिएका छन् । जसमा १ हजार ३४२ आवेदकको आवेदन रद्द भएको छ ।

९ लाख ५८ हजार ९५९ योग्य आवेदकमध्ये ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी रहेको २६ कित्ता सेयर २६ जनाले थप एक एक कित्ताका दरले प्राप्त छन् ।

त्यस्तै, ९ लाख ३ हजार ४३८ आवेदकको हात खाली भएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १० लाख १२ हजार ३८४ जना आवेदकले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका थिए ।

जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको १९.३२ गुणा बढी हो ।

सर्वोत्तम सिमेन्टले फागुन १३ गतेबाट फागुन १६ गतेसम्म बुक बिल्डिङमार्फत सर्वसाधारणलाई कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्काशन गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आईपीओ जारी गरेको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स