काठमाडौं । एमसिए–नेपाल सञ्चालक समितिको २०८० साल फागुन २१ गते बसेको ४०औँ बैठकले विद्युत् प्रसारण आयोजना अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि लामो प्रसारण लाइन सञ्जालबाट १८ किमि लामो बुटवल – गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको छ ।
यस सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता प्रदान गर्दा नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौता अन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने ठहर सञ्चालक समितिले गरेको छ ।
सञ्चालक समितिको बैठकपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव तथा प्रवक्ता श्री नविन राज सिंहले भने, ‘नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणका लागि यस खण्डको गम्भीरतापूर्ण महत्वलाई दृष्टिगत गर्दै एमसिए–नेपाल सञ्चालक समितिले उक्त ठहर गरेको हो । यस खण्डलाई वृहद् प्रसारण लाइन सञ्जालबाट छुट्याउँदा खरिद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्नका लागि यसको निर्माण २०८३ साल जेठभित्रै सम्पन्न हुने सुनिश्चित गर्नेछ ।’
यो सीमापार प्रसारण लाइन विद्युत् प्रसारण आयोजनाको महत्वपूर्ण अंश हो र यसले नेपालको आवश्यकता पूरा गर्न सीमापार विद्युत् व्यापारलाई सहजीकरण गर्नेछ । नयाँ बुटवल – गोरखपुर सीमापार प्रसारण लाइन निर्माण कार्यको व्यवस्थापन गर्ने वित्तीय तथा स्वामित्व संरचनासम्बन्धमा नेपाल सरकार तथा भारत सरकारबीच २०७६ साल असोजमा सहमति भएको थियो ।
बाँकी २९७ किमि प्रसारण लाइनका सन्दर्भमा, निर्धारित समयावधिभित्रै उक्त प्रसारण लाइनको निर्माण सम्पन्न गर्न डिजाइन–बिल्ड निर्माण कम्पनीहरूको सेवा खरिदका लागि एमसिए–नेपालले काम अगाडि बढाइरहेको छ ।
एमसिए–नेपाल प्रसारण लाइनहरू समयमै, बजेटभित्रै र नेपाल सरकार एवं एमसीसीको वातावरणीय तथा सामाजिक मापदण्ड अनुसार निर्माण हुने सुनिश्चित गर्न प्रतिबद्ध छ ।