काठमाडौं । गत आर्थिक वर्षमा वस्तु आयात २८ दशमलव ६६ प्रतिशतले वृद्धि हुँदा भन्सार राजस्वमा उल्लेख्य सुधार आएको छ । विभागले अर्थ मन्त्रालयबाट आर्थिक वर्ष २०७७/७८ मा ४ खर्ब ४० अर्ब रुपैयाँ भन्सारबाट राजस्व उठाउने लक्ष्य राखेको थियो ।
यो अवधिमा विभागले ४ खर्ब ४३ अर्ब २६ करोड राजस्व संकलन गरेको छ । संकलित राजस्व लक्ष्यभन्दा ३ अर्बले बढी हो । गत आर्थिक वर्षमा आयात बढेर १५ खर्ब ४९ अर्ब पुगेको छ । आयातमा भएको वृद्धिले भन्सार महसुल लक्ष्यभन्दा बढी संकलन भएको भन्सार विभागका महानिर्देशक यमलाल भुसालले जानकारी दिए ।
विभागले सो अवधिमा भन्सार महसुल शीर्षकमा २ खर्ब २ अर्ब ९८ करोड राजस्व असुली गरेको छ । संकलित राजस्व लक्ष्यको तुलनामा ४.८७ प्रतिशतले बढी हो । त्यसरी नै विभागले भन्सारबाट आयात निर्यात हुने सामानमा लागेको मूल्य अभिवृद्धि कर शीर्षकबाट १ खर्ब ७० अर्ब राजस्व असुली गरेको छ ।