काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको प्रधानमन्त्रीका निजी सचिवालयका सदस्य विनोद न्यौपानेले जानकारी दिए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री प्रचण्डले अध्ययन गरेका थिए । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्ड समक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलालाई सिफारिस गरेको थियो ।
उनलाई नियुक्ति गर्नुअघि प्रधानमन्त्रीले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उनको ‘करिअर’का विषयमा जानकारी समेत लिएका थिए । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।