हाजिरी गर्दै बाहिरिदा प्रतिनिधिसभामा विधेयक पेस हुन सकेन

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरू हाजिरी गरेर बाहिरिँदा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने समयमा आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगन भएको छ ।

उक्त विधेयक पेस नगर्न नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेस गरेका विरोधको सूचनालाई सभामुख देवराज घिमिरेले बैठकमा निर्णयार्थ पेस गर्न लाग्दा नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले गणपूरक सङ्ख्या यकिन गर्न माग गरेका थिए ।

तत्पश्चात् सभामुख घिमिरेले तीन मिनेटको जनाऊ घन्टी बजाई सचिवालयमार्फत सङ्ख्या यकिन गर्न लगाउँदा एक चौथाइ सदस्य नपुगेपछि विधेयक पेस गर्ने कार्यसूची हटेको हो ।

सभामा हाल कायम रहेकाको एक चौथाइ पुग्न ६९ सदस्य उपस्थित हुनुपर्नेमा ६५ सदस्य मात्रै उक्त समयमा उपस्थिति भएको सभामुख घिमिरेले बैठकलाई जानकारी गराए । नेपालको संविधानको धारा ९४ बमोजिम सदनमा कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ पेसा गर्दा कम्तीमा एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स