नेपालले जलवायु परिवर्तनको कारणले ठूलो जोखिम मोलिरहेको छः अर्थमन्त्री शर्मा

काठमाडौं । नेपालले जलवायु परिवर्तनको कारणले ठूलो जोखिम मोलिरहेको छः अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । अर्थमन्त्री शर्मा र विश्व बैंकका प्रतिनिधिहरुबीच भएको भर्चुअल बैठकमा उनले जोखिम मोलिरहेको बताएका हुन् ।
बुधवार भएको बैठकमा विश्व बैंकको सहयोगमा नेपालमा संचालित विकास परियोजनाहरु र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको छ ।

बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले विश्व बैंकको सहयोगमा संचालन हुने उर्जा तथा अन्य पूर्वाधार परियोजना कार्यान्वयनको गति बढाउन सरकारले तदारुकताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २६) मा विश्व बैंकको तर्फबाट नेपालको चासो र एजेण्डाहरुको सम्बोधन हुने विश्वास व्यक्त गरे ।

नेपालले जलवायु परिवर्तनको कारणले ठूलो जोखिम मोलिरहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले यतिबेला सरकार बेमौसमी वर्षाले पुर्याएको क्षतिको आँकलन गर्ने, जनताको जीवन रक्षा गर्ने, खाद्यान्न आपूर्ति गर्ने र क्षतिग्रस्त पूर्वाधार पुननिर्माण गर्ने लगायतका विषयमा गम्भिरताका साथ काममा जुटिरहेको जानकारी दिए ।

मन्त्री शर्माले जनवायु परिवर्तनबाट अति प्रभावित विकासशील मुलुकहरुले वार्षिक सय अर्ब डलरका दरले क्षतिपूर्ति वापत पाउनुपर्ने सम्बन्धी कोपनहेगन निर्णय समेत लागू नभएको र जलवायु परिवर्तनको असर रोकथाम तथा न्यूनीकरणका लागि स्थापना गरिएका कोषहरुमा नेपालको पर्याप्त पहुँच नरहेको विषयमा समेत विश्व बैंकको ध्यानाकर्षण गराए ।

जारी कोप २६ मा यस विषयमा समेत विश्व बैंकले आवाज उठाइओस् भन्ने नेपालको चाहना रहेको उनले बताए । साथै जलवायु परिवर्तनका असरविरुद्ध जुध्न अन्तर्राष्ट्रिय समुदायबाट नेपाललाई आवश्यक सहयोग प्राप्त हुने अपेक्षा प्रकट गरे ।

भर्चुअल बैठकमा दक्षिण एशियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले नेपाललाई प्राप्त सहयोग तथा सुविधाहरु पूरा उपयोग गर्न कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने आवश्यकता औंल्याए । उनले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २६) मा जलवायु परिवर्तन सम्बन्धी नेपालको चासोलाई महत्वका साथ प्रस्तुत गर्न आफूहरु सकारात्मक रहेको बताए ।

बैठकमा अर्थसचिव मधु कुमार मरासिनीले विश्व बैंक नेपालको विश्वसनीय साझेदार भएकोले विगतमा झैं सहयोग नियमित हुने अपेक्षा व्यक्त गरे । विश्व बैंकले ऊर्जा, शैक्षिक क्षेत्रलगायतमा गरिरहेको सहयोगप्रति आभार प्रकट गरे ।

सचिव मरासिनीले परियोजना कार्यान्वयनको लागि सरोकारवाला मन्त्रालयसँग समन्वय गर्ने, अप्ठेराहरु केही देखिएमा तिनलाई फुकाउने कार्यमा सरकारले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै कोप २६ मा नेपालको आवाजको प्रतिनिधित्व गरिदिन समेत विश्व बैंकलाई अनुरोध गरे ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स